• १३ साउन २०८१, आइतबार

बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

blog

फाइल तस्बिर

भरतपुर, असार ३० गते । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आउनुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो । 

उहाँले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँचसय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताउनुभयो । “यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” उहाँले भन्नुभयो, “अहिलेसम्म पाँच वटा शव फेला परिसकेको छ ।” उहाँले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताउनुभयो । सचिव अर्यालसहित प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ । 

यही असार २८ गते बिहान ३:३० बजेको समयमा भरतपुर महानगरपालिका-२९ नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँच जनाको मात्र शव फेला परेको छ । रासस