• १२ साउन २०८१, शनिबार

नेपाल-भारत जोड्ने राजमार्ग अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द

blog

फाइल तस्बिर ।

भावना जोशी                 

अत्तरिया, असार ३० गते । भारतको पलियामा शारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौँ यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल-भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरी फण्टा सीमा नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ । गौरीफण्टा नाका भएर भारतबाट आउने नेपालीहरू टिकापुरको खक्रौला, नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग बगाएपछि लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । 

गौरिफण्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मूल्य आकासिएको छ । एक सातादेखि खाद्यान्न लगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सीमा बजार वनगवाँमा समेत खाद्यान्न लगायत सामानको अभाव भएको छ । उक्त बजारमा नेपालीहरूले मात्र दैनिक करोड सम्मको कारोबार गर्दै आएको वनगवाँका व्यापारी गुड्डु सिङ गुप्ताले बताउनुभयो । गुप्ताले भन्नुभयो, "नेपालीहरूले महँगोमा सामान खरिद गर्नु परेको छ पहिले चिनीको मूल्य ६० थियो, अहिले बढेर ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ।"

सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट गत आइतबार देखि सुदूरपश्चिमका लागि इन्धन ल्याउन सकेको छैन । नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतबारदेखि इन्धनको आपूर्ति बन्द भएको  जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "वितरणमा समस्या भएकाले नेपालगन्जबाट ल्याउदैँछौ । एक हप्तादेखि बाटो बन्द भएको छ । हामीले स्थलगत अवलोकन गरेर आएका छौँ , गत आइतबारको वर्षाले सडकमा क्षति गरेको भएपनि मर्मत नभएको उहाँले बताउनुभयो । पानीको सतह नघटेपछि मर्मतमा समस्या भएको हो । रुट परिवर्तनका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ।" बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगन्जबाट इन्धन ढुवानी थालेको जोशीको भनाइ छ । 

एक सातादेखि ठुलो वर्षा नहुँदा पनि भारत सरकारले अवरुद्ध सडक निर्माणमा चासो नदिएको भन्दै भारतीय सीमा बजार वनगवाँँका व्यापारीले सरकार विरुद्ध आत्रोस पोखेका थिए ।