• ८ मंसिर २०८१, शनिबार

स्वदेशी चिकित्सकद्वारा कलेजो प्रत्यारोपण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३० गते । त्रिवि शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोगबिना नेपाली चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गरेको छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ३० वर्षका युवकको कलेजो प्रत्यारोपण भएको हो । उहाँलाई २७ वर्षकी श्रीमतीले कलेजो दान गर्नुभएको थियो । 

कलेजो सर्जन डा. भण्डारीले शिक्षण अस्पतालको जनशक्तिले विदेशी चिकित्सकको सहारा नलिई कलेजो प्रत्यारोपण गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको सहारा लिनु पर्दैन भन्ने सन्देश दिइएको जानकारी दिँदै अब नेपाली चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गर्ने बताउनुभयो । त्रिवि शिक्षण अस्पतालमा १५ औँ कलेजो प्रत्यारोपण भएको हो । उहाँले काभ्रेका पुरुषको सफल मिर्गौला प्रत्यारोपण गर्न सफल भएको जानकारी दिनुभयो । अहिले कलेजो दिने र प्रत्यारोपण गर्ने दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उहाँले शिक्षण अस्पतालले नियमित रूपमा कलेजो प्रत्यारोपण गर्ने जानकारी दिनुभयो । नेपालमा कलेजो प्रत्यारोपणका लागि २० देखि २५ लाख रुपियाँ लाग्ने गर्छ ।