विसं २०३३ देखि नेपालमा पुँजी बजारको संस्थागत विकासको प्रारम्भ भएको हो । अहिलेसम्म पुँजी बजारले अपेक्षित रूपमा उपलब्धि हासिल गर्न सकेको छैन । अर्थात् विकसित मुलुकको पुँजी बजारको तुलनामा हामी धेरै पछि छौँ । पुँजी बजारसम्बन्धी ज्ञानको कमीले हामीकहाँ सेयर किनेपछि धैर्य गर्नेभन्दा पनि बेच्न हतारिने गर्दछौँ । सायद हामीकहाँ व्यक्तिगत लगानीकर्ता धेरै भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हुन सक्छ ।
संस्थागत लगानीकर्ता बढी भएमा यस्तो अवस्था आउँदैन । यसका लागि पुँजी बजारसम्बन्धी सचेतना जगाउनका लागि कहाँ लगानी गर्ने ? कति लगानी गर्ने ? कहिले लगानी गर्ने ? किन लगानी गर्ने ? कसरी लगानी गर्ने ? जस्ता विषयमा पुँजी बजारसम्बन्धी साक्षरता दिनु आवश्यक छ ।
अधिकांश लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सिपको विकास भइसकेको छैन । साना व्यवसायी, सेयरधनी तथा पुँजीपति उद्यमी (भेन्चर क्यापिटलिस्ट) जस्ता निजी लगानीकर्ताले पुँजी बजारमा आफ्नो रकम हालेर जोखिम मोल्छन् । लगानीकर्ताले कहिलेकाहीँ गल्ती गर्छन्, कहिलेकाहीँ उनीहरूले लगानी गरेका परियोजना घाटामा जान्छन् । यस्तो अवस्थामा सेयर बजार सम्बन्धी जनचेतनामूलक कार्यव्रmम, तालिम, सेमिनार तथा साक्षरता बनाउनु आवश्यक छ । पुँजी बजारसम्बन्धी साक्षरता दिँदा लगानीकर्तालाई के सिकाउनु पर्छ भने कुनै व्यक्तिले तात्कालिक नतिजा मात्र नहेरेर दीर्घकालीन नतिजा पनि हेर्नु पर्छ ।
पछिल्लो समय लगानीकर्ताले चाहेको समयमा खरिद बिक्री गर्न सक्ने भएको हुँदा साना बचतकर्तादेखि ठुला लगानीकर्ताको लगानी पुँजीप्रति आकर्षित भएको पाइन्छ । अर्थात्, जम्मा १० कित्ता सेयर लिएर कसैले लगानी नै त बढाउने होइन । यसले सर्वसाधारणका लागि जारी गरिएको १० कित्ता सेयरले गर्दा रोजगारबाट वञ्चित भएका, विद्यार्थी वर्ग र न्यून आय भएका वर्गलाई निकै फाइदा पुगेको छ ।
सूचना प्रविधि र आइएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पुर्याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत पुँजी बजारमा सजिलै सहभागी हुन सक्छन् । पुँजी बजारको विकास र विस्तारले गर्दा गाउँका कुना कन्धरामा गएर पुँजी बजारको गतिविधिबाट देशमा बचत तथा लगानीले धन बढ्न गई उत्पादकत्व पनि बढ्छ । जसले गर्दा एकातिर आर्थिक व्रिmयाकलापको विकास हुन्छ भने अर्कोतिर उद्योग, व्यापार र कृषि क्षेत्रमा प्रगतिका लहर आउँछन् ।
लगानीकर्ताको क्षमता विस्तार गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ट्रेनिङ इन्स्टिच्युट स्थापना गरी स्थानीय तह, प्रदेशमा समेत वित्तीय साक्षरता तालिम दिनु पर्छ । सेबोन, नेप्से र ब्रोकरले पाउने ब्रोकर कमिसनसहित अन्य लागत पनि घटाउनु जरुरी छ । किनभने लगानीकर्तालाई बजारप्रति आकर्षण र पहुँच विस्तार गर्न सजिलो हुन्छ । नेप्सेको सुधार गरेरै पुँजी बजारको आधुनिक विकास र विस्तार गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रमा नयाँ स्टक एक्सचेन्ज ल्याउन सक्नु पर्छ । नेप्से र ब्रोकरको सिडिएसलगायतका सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।
नेपालको पुँजी बजार बढ्दो छ । अझ यो बजारलाई माथि उकास्न धेरै सुधारका काम गर्नु आवश्यक छ । पुँजी बजारको दिगो विकास विस्तारका लागि आवश्यक पूर्वाधारको व्यवस्थाका साथै पुँजी बजारको सुधार प्रक्रियालाई नयाँ मोडेल अनुसार लैजान सक्नु पर्छ । पुँजी बजारलाई दीर्घकालीन वा स्थायी प्रकृतिको बनाउन बजारको उपकरण पनि पर्याप्त, भरपर्दो, प्रविधिमैत्री र सुदृढ गर्दै लैजानुु पर्छ । जसले गर्दा पुँजी बजारमा स्थायित्व छ भन्ने सन्देश जाने छ । नियामक निकाय र बजार सहभागीको साक्षरता क्षमता अभिवृद्धि सक्न सक्नुु पर्छ । यस्तै नियामक निकाय र सरकारको पुँजी बजारसम्बन्धी स्थिर नीति र नियमन हुनु बनाउनु पर्छ । कोही व्यक्ति कुनै पदमा रहनु वा नरहनुले पुँजी बजार प्रभावित हुनु हुँदैन ।
नेपाली जनतालाई पहिला पुँजी बजारबारे बुुझाउन, अभ्यास र साक्षरता गराउन ज्यादै कठिन थियो । अहिले प्रविधिको परिवर्तनले यसलाई सजिलो बनाएको छ । यसका लागि संस्था तथा नियामक निकायले ऐन, नियम र कानुुन समयसापेक्ष बनाउनु पर्छ । बढ्दो लगानीकर्ता र भित्रिँदो प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा भएको अभ्यासलाई सूक्ष्म रूपले अध्ययन गर्नु पर्छ । पुँजी बजारबारे साक्षरता तथा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकाय निरन्तर लाग्नु पर्छ ।
नेपालको पुँजी बजार अस्थिर छ भन्ने गुनासो व्यापक सुनिन्छ । यसले भर्खरै बजारमा प्रवेश गरेका लगानीकर्तालाई निरुत्साहित बनाउने काम गरेको देखिन्छ । लगानी उठ्ला कि नउठ्ला भनेर लगानीकर्तालाई भयभीत र चिन्तित बनाउने काम भएको छ । यी विविध समस्याका कारण यस क्षेत्रमा लगानीकर्ताको दृष्टिकोण नै परिवर्तन गर्नका लागि साक्षरता अभियान नै चलाउनु पर्ने देखिन्छ । यस्तै लगानीकर्ताले समयमा प्रतिफल पाउन सक्ने कुनै ग्यारेन्टी दिन सकेका कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सक्नु पर्छ । कुनै पनि परियोजना लागि आवश्यकताभन्दा बढी मूल्य देखाउने गरेको पछिल्लो समय देखिन्छ । पुँजी बजारमा रहेका यस्ता समस्यालाई पनि समाधान गर्नुपर्ने देखिन्छ । विश्वका सुदृढ पुँजी बजारमा अपनाइने प्रविधिलाई हाम्रो मुलुकमा ल्याई इन्टरनेटमा आधारित कारोबार गर्न जतिसक्दो छिटो पूर्ण स्वचालित व्यापार प्रणाली सञ्चालन गर्नु आवश्यक देखिन्छ । पुँजी बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्सेलाई समयसापेक्ष विकास गर्दै लैजानु आवश्यक छ । पुँजी बजार विस्तारका लागि प्रविधि राम्रो भएमा बजारमा देखिएका धेरै समस्या समाधान सहजै सकिन्छ ।
सूचना प्रविधियुक्त बजार विस्तार भएको र संस्थाको गरिमा बढेमा मात्र लगानीकर्ताको विश्वास बढ्न सक्छ । नेपालमा अनलाइन सिस्टम भर्खर सुरु हुँदै छ । यसलाई पूर्ण रूपमा विकास गर्न सकेमा पुँजी बजार जहाँसुकैबाट पनि कारोबार गर्न सकिन्छ । बैङ्क एकाउन्ट, डिम्याट एकाउन्टसँग इन्टिग्रेट र रिअल टाइममा सेटलमेन्ट गराउन सके स्वदेश वा विदेश भनिरहनु नै पर्दैन जहाँसुकैबाट पनि पुँजी बजारमा लगानी गर्न सकिन्छ । यसका लागि पुँजी बजारलाई पूूर्ण आधुनिकीकरण गरी विकास गर्न नेप्सेको संरचनात्मक सुधार गर्नु अत्यावश्यक छ । पुँजी बजारमा देखिएका विविध समस्या समाधान गर्न राज्यले पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने देखिन्छ । नेपालको पुँजी बजारलाई प्रतिस्पर्धात्मक रूपमा विकास गर्न सक्नु पर्छ । नेप्सेलाई पनि सुधार गर्न अर्को प्रतिस्पर्धी स्टक ल्याउनै पर्छ । प्रतिस्पर्धाले गर्दा शुल्कसहितको लगानी लागत घट्ने, अन्तर्राष्ट्रिय स्तरको आधुनिक अनलाइन सफ्टवेयर भित्रिनुका साथै सेयर कारोबार सहज, स्तरीय र प्रतिस्पर्धी भई यसको कारोबार परिमाण पनि उच्च हुने छ ।
लगानीकर्ताबिच पुँजी बजारसम्बन्धी साक्षरताको विकास गरी सम्भाव्य लगानीकर्ता समेट्न सकिएको देखिँदैन । नेपालमा पुँजी बजार विस्तारसँगै यो बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेका छन् । धेरै लगानीकर्ताले छोटो अवधिमा आफ्नो लगानी गुमाइरहेको देखिएकाले साक्षरता बनाउनु पर्छ । धितोपत्र तथा वस्तु विनिमय बजारलाई पहुँचयोग्य, विश्वसनीय र स्वच्छ बनाउन सक्नु पर्छ । सबल गतिशील र विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकासमार्फत लगानी, आकर्षित गर्ने लक्ष्यका साथ अगाडि बढ्नु आवश्यक छ ।
धितोपत्र व्यवसायलाई थप व्यावसायिक तथा मर्यादित बनाई धितोपत्र व्यवसायी सेवालाई थप प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन सक्नु पर्छ । धितोपत्र तथा दीर्घकालीन ऋणको सेवा विस्तार गर्दै यसलाई उदीयमान पुँजी बजारको स्तरमा वृद्धि गर्न आवश्यक छ । ओटिसी बजारलाई आधुनिकीकरण र ऋणपत्रको दोस्रो बजारलाई विकास गर्न जरुरी देखिन्छ । पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै नेप्सेले लागु गरेको लोकल अनलाइन प्रणालीलाई प्रभावकारी बनाउनु पर्छ । रियल सेक्टर कम्पनीलाई बजारमा प्रोत्साहन गर्ने नीति लिनु पर्छ । पुँजी बजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता दिन सक्नु पर्छ ।
अतः धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण गत पुस महिनायता प्राथमिक निष्कासन (आइपीओ), थप निष्कासन प्रव्रिmया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया अवरुद्ध भएको छ । जसका कारण करिब ६० लाखभन्दा बढी लगानीकर्ताका मुद्दा ओझेलमा परेको छ । तसर्थ सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न ढिलाइ गर्नु हुँदैन ।