• १२ साउन २०८१, शनिबार

सनवोरा नदीको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

blog

झोलुङ्गे पुल । फाइल तस्बिर

कञ्चनपुर, असार २६ गते । तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका-३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ । वडा नम्बर ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो ।

तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताउनुभयो । “पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल जोगाउन प्रयास थालिनुपर्छ ।” वडा नम्बर २ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुङ्गे पुल रहेको उहाँले उल्लेख गर्नुभयो ।

वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले पुल जोखिममा परेको जानकारी नगरपालिको बिहीबार बस्ने विपद व्यवस्थापन समितिको बैठकमा जानकारी गराउने बताउनुभयो । वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने उहाँले बताउनुभयो । “तटबन्ध निर्माणका लागि प्रदेश सरकारसँग माग गर्न ‘डेलिगेसन’सहित जाने कार्यक्रम छ”, वडा अध्यक्ष चौधरीले भन्नुभयो, “तत्काल पुल जोगाउन अस्थायी प्रबन्ध गर्न योजना बनाइरहेका छौँ । नगर तथा विपद व्यवस्थापन समितिलाई तत्काल जानकारी गराउने छौँ ।”

स्याली र सनवोरा नदीले वडाका अधिकांश खेतीयोग्य जग्गा कटान गरेको बताउँदै वर्षा पूरै बाँकी रहेको अवस्थामा थप कटान हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल भइरहेको उहाँको भनाइ छ । पुल वि.सं.२०७३ मा ७० लाखको लागतमा निर्माण भएको थियो । पुलको लम्बाइ एक सय मिटर छ । रासस