• १२ साउन २०८१, शनिबार

‘नेपाल फेस्टिभल २०२४’ मा पाँच हजार नेपाली सहभागी

blog

क्यानडा, असार २५ गते। लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलो पटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ। 

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानडाको मुख्य प्रायोजनमा असार २३ गते सम्पन्न एक दिने महोत्सवमा पाँच हजार बढी नेपाली सहभागी भए।

महोत्सवमा सहभागीले नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकार रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिनुभयो।

‘यो महोत्सवमा नेपालीको सहभागिताले हामीलाई हौसला प्रदान गरेको छ। हामीले अपेक्षा गरेको भन्दा दोब्बर सङ्ख्यामा उपस्थिति रह्यो’, भण्डारीले भन्नुभयो। 

महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरेका थिए। गायक हिमाल सागरसँगै कलाकार देवीका केसी, मानसिंह खड्कासहित थुप्रै स्थानीय कलाकारले प्रस्तुति दिएका थिए। 

गायक हिमाल सागर महोत्सवमा आफ्ना चर्चित गीत गाउनुभयो। उहाँले क्यानडामा रहेका नेपाली माझ प्रस्तुति दिन पाउँदा छुटै अनुभूति भएको बताउनुभयो। 

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। 

क्यानडामा रहेका सम्पूर्ण नेपाली सङ्घसंस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपालीको सामीप्यता बढाउन सफल भएको आयोजकले बताएका छन्।