• १२ साउन २०८१, शनिबार

नेपालको प्रतिनिधित्व गर्दै अरोमाका विद्यार्थी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी

blog

नेपालको प्रतिनिधित्व गर्दै अरोमाका विद्यार्थी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जानु अगाडि भरतपुर महानगर प्रमुख रेनु दाहालले बिदाइ गर्नुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, असार २५ गते । 
अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् ।

युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका रहका छन् ।

अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स ओलम्पियामा सहभागी हुन लागेको विद्यालयका प्राचार्य शेरबहादुर क्षत्रीले जानकारी दिनुभयो । नेपालको प्रतिनिधित्व गर्दै जान लाग्नुभएका विद्यार्थीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिदाइ गर्नुभएको छ । दाहालले विद्यार्थीहरूलाई जितको शुभकामना पनि दिनुभयो । हौसलाका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अरोमा स्कुलका अध्यक्ष कृष्णप्रसाद सापकोटाले आफ्ना विद्यार्थीलाई सानै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागीताका लागि पठाउन पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । विश्वका १०० भन्दा बढी देशबाट गएका विद्यार्थीलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ । हरेक देशबाट पाँच/पाँच जना विद्यार्थी जान पाउने छन् ।

विद्यार्थी योगेन्द्र शर्मा उपाध्यायका बुबा दीपेन्द्र शर्मा उपाध्यायले विद्यालयका कारण आफ्नो छोरो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने अवसर पाएको बताउनुभयो । ‘‘म असाध्यै खुसीको क्षणमा छु । मेरो छोरो भौतिक विज्ञान विषयको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट जाने पाँच जना विद्यार्थीमध्ये दोस्रो नम्बरमा छनोट भएर जाँदै छ’’, उहाँले भन्नुभयो । अरोमा स्कुलले दिएको ज्ञान र त्यहाँको वातावरणकै कारण आफ्नो छोरो अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा जाने अवसर पाएको उहाँले सुनाउनुभयो ।