• १२ साउन २०८१, शनिबार

बैतडी र कैलालीका १ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

blog

फाइल तस्बिर ।

भावना जोशी

अत्तरिया, असार २३ गते । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका १ सय ४९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाका एक सय बढी परिवारलाई स्थानीय शारदा माविमा सारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिल्ली राज विष्टले जानकारी दिनुभयो । 

स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको सहयोगमा उहाँहरूलाई सुरक्षित स्थानमा शारदा माविमा सारिएको छ । बाढीले बगाउने डरले स्थानीय पशुचौपाया सहित घर छाडेर विद्यालयमा आश्रय लिएर बस्नुभएको हो । सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । 

यस्तै कैलाली जिल्लाको भजनीका ४९ परिवारका १ सय ८८ जनालाई सुरक्षित स्थानमा राखिएको विष्टले जानकारी दिनुभयो । कैलाली जिल्लाको भजनीका ३९ परिवार बाढी गाउँमा पसेपछि  विस्थापित भएका छन् । साथै उहाँले जिल्ला विपत् व्यवस्थापन कार्यालयको सहकार्यमा उद्धार कार्यमा प्रहरी खटाइएको बताउनुभयो । 

तत्काल सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, अस्थायी प्रहरी युनिट लगायत सबै संयन्त्र तयारी अवस्थामा राखिएको बताउनु भयो । उहाँले भन्नुभयो, “तत्कालको लागि एक हजार १ सय ५० जना प्रहरी तयारी अवस्थामा छन् हामीसँग ७ हजार प्रहरी छन्, आवश्यक पर्दा नेपाली सेना, सशस्त्र प्रहरी समेत परिचालन हुन्छ ।” 

पहाडी जिल्लामा खाद्यान्न औषधी लगायतमा समस्या नहोस् भनेर मुख्य राजमार्गमा प्रहरीसँगै एक्स्काभेटर राखेर अवरोध हटाउने काम भइरहेको विष्टले बताउनुभयो ।