• १२ साउन २०८१, शनिबार

तारकेश्वरबाट एसइई उत्तीर्ण विद्यार्थी सम्मानित

blog

राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरू सम्मानित ।

काठमाडौँ, असार २२ गते । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार तारकेश्वरबाट ४ जिपिए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले बताउनुभयो ।

यस्तै, सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसइई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

२०८० को एसइईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरू सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिनुभयो । यस्तै, अभियानले विद्यालयहरूलाई पनि सोही अवसरमा सम्मान गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी, वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्याल, ५ का शम्भु फुयाँल, ७  का सानुकाजी खत्री, काठमाडौँ महानगर वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, यातायात महासङ्घका उपाध्यक्ष सानुकाजी प्रजापति, सामाजिक अगुवा सविन तामाङ, इन्द्रमान महर्जनसहित शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा गायक यसकुमार, प्रकाश कटवाललगायतको प्रस्तुति समेत रहेको थियो । परिवर्तन अभियान नेपालले अघिल्लो वर्ष पनि एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको थियो । अभियानले शिक्षा, स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आएको छ भने बेलाबेलामा वैचारिक बहस समेत चलाउँदै आएको छ ।