• १९ असोज २०८१, शनिबार

नारायणीले चेतावनी तह पार गर्‍यो, सतर्क रहन प्रशासनको आग्रह

blog

नारायणी नदीमा बढेको पानीको बहाव । तस्विरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असार २२ गते । नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको सङ्केत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११.२१ मिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ । 

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा भइरहेको अत्यधिक वर्षाका कारण केही दिनदेखि नारायणी नदी तथा कालिगण्डकी नदीमा जल सतह बढ्दै गएको बताउनुभयो । नारायणी नदीको जल सतह मापनले सतर्कता तह पार गरेकाले नदी कटान तथा डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । 

नारायणी नदीमा पानीको तह ११ मिटर पुग्नुलाई खतराको सङ्केत मानिन्छ । अहिले नारायणीमा पानीको सतह ११.२१ मिटर रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ ।  

यस्तै, नवलपुरमा गत ५ दिनदेखि लगातार पानी परिरहेको छ । गएरातिदेखि भारी वर्षा भइरहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १०१ दशमलव ८ मिलिमिटर पानी परेको छ भने पछिल्लो १ घण्टामा २५ दशमलव ४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।

रातिदेखि भारी वर्षा भएसँगै नवलपुरका कावासोतीको केरुङ्गे खोला, लोकाहा खोला, डण्डाको पत्थर खोला, गिरुवारी खोला, दलदलेको बौलाहा खोलाका साथै नारायणी नदीमा पानीको बहाव बढेको छ ।

अहिलेसम्म जोखिम तहभन्दा तल नदी तथा खोलामा पानीको सतह भए पनि यहाँ निरन्तर अहिलेकै अवस्थामा भारी वर्षा भइरहे नारायणी नदी लगायत खोलाको सतह बढ्न गई बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

नवलपुर पनि अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकाले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ । विपद् व्यवस्थापन समितिको केही दिनअघि बसेको बैठकले पालिका, रेडक्रस, प्रहरीलगायतका सुरक्षा निकायलाई उच्च सतर्कताका साथ रहन आग्रह गरेको थियो ।