• २३ असार २०८१, आइतबार

एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा

blog

एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीबाट उत्कृष्ट विद्यार्र्थीलाई सम्मान गर्दै ।

छविलाल पाण्डे 

बुटवल, असार २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताउनुभएको छ । 

एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको एसइईमा ३ दशमलव ६ जिपिए र सोभन्दा माथि नतिजा ल्याउने विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको केही दिनभित्र विषयविज्ञ शिक्षकबाट मुख्य विषयको अनलाईन कक्षा सञ्चालन गर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले एसइईमा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै असफल भएका विद्यार्थीलाई फेसबुक पेजमा गएर आवश्यक जानकारी लिन समेत विद्यार्थीलाई आग्रह गर्नुभयो । 

उहाँले अभिभावकको चाहानामाभन्दा विद्यार्थीको रुचिको आधारमा विषय छनोट गरेर पढ्न सुझाव दिनुभयो । नेपालीहरु बिद्वानहरुका पुर्खा रहेको भन्दै अध्यक्ष ओलीले प्रचारप्रसारको कमीले नेपाली बिद्वानहरु ओझेलमा परेको बताउनुभयो ।

अध्यक्ष ओलीले ऋषिमुनीहरुले यही भूमिबाट अध्ययन र अनुसन्धान गरेको बताउँदै नेपाल ज्ञानको भूमि भएको र अहिलेको पुस्ताले नेपालमै सम्भावना देख्नका लागि सुझाव दिनुभयो । 

अध्यक्ष ओलीले मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थी एसइई परीक्षामा अनुत्तीर्ण भएको र अहिले अनुत्तीर्ण भए पनि पुरक परीक्षामा धेरै परीक्षार्थीलाई सफल बनाउने गरी निःशुल्क अनलाईन कक्षा सञ्चालन गर्ने तयारी भएको भन्दै त्यसमा जोडिन आग्रह गर्नुभयो । 

उहाँले मौका परीक्षालाई लक्षित गरी आफ्नो फेसबुक पेज र अनलाईनमार्फत कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले शिक्षकहरुमा आफुभित्र भएको ज्ञान प्रदान गर्ने सिप र सिकाई कला नहुँदा पनि धेरै विद्यार्थी असफल हुने भएकाले शिक्षकलाई पनि सिकाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । 

अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २ सय २८ जना विद्यार्थीलाई सम्मान गरेको छ ।