• २३ असार २०८१, आइतबार

सामुदायिक वनमा रोपियो दस हजार बिरुवा

blog

बैतडी समाचारदाता 

बैतडी, असार २० गते ।   खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि दुई वटा सामुदायिक वनमा पानी सञ्चित गर्ने प्रजातिका १० हजार बोटबिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालयको वन विकास कार्यक्रम अन्तर्गत सिगास गाउँपालिकाको शेला सामुदायिक वनमा बाँज, काफल, चाँप, बाँस, टिमुर, तेजपत्तालगायका पाँच हजार बोट रोपिएका छन् । 

मेलौली नगरपालिका–९, विशालुरको असुर मौजा सामुदायिक वनले आफ्नै लगानीमा काफलका पाँच हजार बोट रोपेको छ । सिगासको शेला सामुदायिक वनमा डिभिजन वन कार्यालयले वृक्षरोपणका लागि पाँच लाख ८६ हजार रुपियाँ खर्च गरेको वन कार्यालयका निमित्त प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । वन कार्यालयबाट वृक्षरोपणका लागि योजना स्वीकृत भएपछि स्थानीयको अगुवाइमा पाँच हजार बिरुवा रोपिएको शेला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष परमानन्द भट्टले बताउनुभयो ।  

मेलौलीमा भने प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा कार्यालयको तीन लाख रुपियाँमा ओखर, काफललगायत बिरुवा रोपिएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । खोटे सल्लाका कारण पानीका मुहान सुकेपछि काफल रोपिएको उहाँले बताउनुभयो । पानी सञ्चित गर्ने बिरुवा रोप्न सामुदायिक वनका पदाधिकारी र स्थानीयले वनमा खाडल तयार पारेको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताउनुभयो । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष नयाँ प्रजातिका पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको छ । 

सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुकेको पाइएको छ । खोटेसल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पका रूपमा अन्य बिरुवा रोपिएको वन कार्यालयले जनाएको छ । यस जिल्लामा तीन प्रकारका सल्लाको प्रजाति रहेको छ । लौठसल्ला, द्वारसल्ला र खोटेसल्ला । यीमध्ये खोटेसल्लाको वन क्षेत्र बढी छ । खोटेसल्लाले पानी सञ्चित गर्न सक्दैन । त्यस कारण अन्य प्रजातिका बिरुवा रोप्नु परेको वन कार्यालयले जनाएको छ ।