स्वस्थ जीवनशैलीका लागि खानपान, आराम, योग ध्यानका साथै व्यायामको महत्वपूर्ण भूमिका हुन्छ । यसकै माध्यमबाट हामी शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक रूपमा स्वस्थ हुन सक्छौँ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्णतः तन्दुरुस्त रहनु नै स्वास्थ्य हो । व्यापक अर्थमा स्वस्थ रहनु भन्नाले रोग तथा दुर्बलताबाट मुक्त रहनु मात्र नभई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सन्तुलित, सामाजिक रूपमा सहयोगी, बौद्धिक रूपमा प्रतिभावान्, आत्मिक रूपमा सबल रहनुलाई बुझिन्छ । शारीरिक स्वास्थ्य राम्रो भएमा व्यक्तित्व विकास हुन्छ ।
काम गर्ने उत्साह, जाँगर र बल बढ्छ, जसले कार्य क्षमता अभिवृद्धि गर्छ । शारीरिक स्वास्थ्य कायम राख्न समय समयमा शारीरिक स्वास्थ्य जाँच गराउने, योग र व्यायाम गर्ने, स्वस्थ जीवनशैली अपनाउने, सन्तुलित खानपानमा ध्यान दिने, आराम गर्ने आदि गर्नु पर्छ ।
भनिन्छ, रोग लाग्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम मानिन्छ । यदि रोग लागिहालेमा तुरुन्तै उपचार गराउनु पर्छ । नेपालमा आधुनिक र परम्परागत दुवै उपचार पद्धति विद्यमान छन् । आधुनिक चिकित्सा पद्धति एलोप्याथी र परम्परागत चिकित्सा पद्धति होमियोप्याथी हुन् । परम्परागत स्वास्थ्य उपचार पद्धति अन्तर्गत आयुर्वेद चिकित्सा सेवा, परम्परागत स्थानीय उपचार पद्धति, प्राकृतिक चिकित्सा पद्धति आदि पर्छन् । परम्परागत स्वास्थ्य सेवा पद्धतिलाई वैकल्पिक स्वास्थ्य सेवा पनि भनिन्छ । आधुनिक स्वास्थ्य सेवा पद्धतिमा पश्चिमी वैज्ञानिक उपचार पद्धति भनिन्छ, जसमा मावन निर्मित औषधी र शल्यक्रियाद्वारा रोगको उपचार गरिन्छ ।
आधुनिक औषधी तथा स्वास्थ्य क्षेत्रमा भइरहेका आविष्कार र प्रगतिले मानिसको स्वास्थ्य स्थितिमा आमूल परिवर्तन भएको छ तर बहुसङ्ख्यक ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्नेहरूमा यस उपचार पद्धति अझै प्रभावकारी रूपमा पुग्न सेकेको छैन । जति पनि स्वास्थ्य केन्द्र र अस्पताल छन् ती सबै सहर केन्द्रित छन् । यस्तो अवस्थामा आधुनिक औषधीको प्रयोग र स्वास्थ्य उपचार पद्धतिको पहुँच सबै नागरिकमा पुग्न सकेको छैन । स्थानीय स्तरमा परम्परागत स्थानीय उपचार पद्धति नै अपनाएको पनि पाइन्छ ।
आधुनिक स्वास्थ्य सेवा पद्धति विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले प्रवाह गरिरहेका छन् तर त्यसको प्रभावकारिता जनस्तरमा पुग्न सकेको छैन । आधुनिक स्वास्थ्य चिकित्साले निरोधात्मक, प्रवर्धनात्मक तथा उपचारात्मक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । यस क्षेत्रमा भइरहेका आविष्कार र प्रगतिले मानिसको स्वास्थ्य स्थितिमा आमूल परिवर्तन भएको छ । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने कार्यक्रमको सुरुवात राणाकालबाटै भएको देखिन्छ । प्रजातन्त्रको स्थापना २००७ साल र पुनस्र्थापना २०४६ साल, २०६२/६३ को जनआन्दोलन र नेपालको संविधान जारी भएपछिका दिनमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि हुँदै आएको पाइन्छ । सरकारले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाउन विभिन्न ऐन तथा नीतिहरू निर्माण गर्दै आइरहेको छ । स्वास्थ्य अनुसन्धान परिषद् ऐन २०४७, नेपाल स्वास्थ्य सेवा ऐन २०५३, खोप ऐन २०७२, जनस्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ आदि ऐनहरू स्वास्थ्य सुविधा र गुणस्तरमा वृद्धि गर्न बनेका ऐन नियम हुन् ।
स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न बनेका थुप्रै नीति नियमको साथै स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास एवं स्रोतसाधनको पर्याप्ततालाई जोड दिने गरिएको छ तर नेपालको स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नका लागि अझै मेहनत गर्नुपर्ने देखिन्छ । अनि मात्र जनताले गुणस्तरीय र उचित स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन् । यसै गरी स्वास्थ्य सेवाको पहुँचको सवालमा ठाउँ विशेष, संस्कृति विशेष र परिवेश विशेष जस्ता तत्वका कारण स्वास्थ्य सेवा लिने व्यवहारमा परिवर्तन देखिएको छ । अझै पनि कतिपय नागरिकले परम्परागत उपचार विधिलाई प्राथमिकता दिइरहेका छन्, जसले गर्दा आवश्यकता अनुसार आधुनिक स्वास्थ्य सेवा लिन उनीहरू वञ्चित छन् तर नेपालको संविधानको भाग ४ धारा ५१ मा राज्यका नीतिमा हरेक नेपालीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको अधिकारका साथै आकस्मिक स्वास्थ्य सेवाको सुविधा र समान पहुँचको ग्यारेन्टी गरेको छ ।
नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्न आयुर्वेदिक, प्राकृतिकलगायत परम्परागत चिकित्सा पद्धतिको पनि संरक्षण र प्रवर्धन गर्नु आवश्यक छ । स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउनुका साथै स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिनु पर्छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि गर्दै लैजानु पर्छ । जनसङ्ख्याको व्यवस्थापनका लागि परिवार नियोजनलाई प्रोत्साहित गर्दै मातृ शिशु मृत्युदर घटाई औसत आयु बढाउने आदि काम पनि गर्न सक्नु पर्छ । पछिल्ला वर्ष नेपालमा शिशु तथा मातृ मृत्यु दर घटेको छ । औसत आयु बढेको छ । यसले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढ्दै गएको देखाउँछ तर समयानुकूल जति हुनुपर्ने हो त्यति अझै हुन सकेको छैन ।
जन्मदर, मृत्युदर, स्वास्थ्य स्थिति, बसाइँसराइ जस्ता विषयले राज्यको विकास निर्माण, स्रोतसाधनको परिचालन, योजना निर्माण जस्ता विषयमा ठुलो प्रभाव पार्छ । स्वास्थ्य क्षेत्रमा आएको व्यापक परिवर्तनले नेपालीको औसत आयु बढेको हो । सन् १९९० यताका दुई दशकमा औसत आयु १२ वर्ष बढाएर नेपालले विश्वमै ठुलो फड्को मारेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष रहेको छ । यसमा पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको छ । गरिबी २१ प्रतिशतबाट झरेर १८ प्रतिशत कायम भएको छ ।
अतः मानव जीवनको सबैभन्दा महत्वपूर्ण विषय स्वास्थ्य हो । मानिसको पहिलो प्राथमिकता शारीरिक, आत्मिक, मानसिक, बौद्धिक स्वास्थ्य नै हुनु पर्छ । राम्रो स्वास्थ्यबिना जीवनको कुनै महत्व हुँदैन । अस्वस्थ व्यक्ति राष्ट्रको विकासमा बाधक मानिन्छ । त्यसैले जसरी विकसित मुलुकमा स्वास्थ्य सेवा सहज, सुलभ भएको छ, त्यसरी नै विकासोन्मुख राष्ट्रमा पनि परम्परागत र आधुनिक स्वास्थ्य सेवाको विस्तार र गुणस्तर वृद्धि हुनु आवश्यक छ । आजको समयमा कुनै पनि नागरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु हुँदैन ।
स्वस्थ रहनका लागि अपनाउनु पर्ने तरिकालाई पनि ध्यान दिनु पर्छ । जस्तो कि बिहान चाँडै उठ्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, अर्गानिक खाना खाने, योग–ध्यान गर्ने, समय व्यवस्थापन गर्ने, सरसफाइमा ध्यान दिने, तनावरहित जीवन जिउने, चिनीयुक्त खाना कम खाने, अनुशासनमा रहने, मनोरञ्जन गर्ने आदि तरिका अपनाएमा हामी स्वस्थ रहन सक्छौँ ।