• २२ असार २०८१, शनिबार

उत्कृष्ट विद्यालय, पदाधिकारी र शिक्षक कर्मचारी सम्मानित

blog

रिड नेपालद्वारा सम्मानित शिक्षक तथा विद्यालयका पदाधिकारी । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १९ गते। ताप्लेजुङस्थित ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले उत्कृष्ट विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ।  रिड नेपालको आफ्नो क्षेत्र भित्रका विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्ममान गरेको हो। 

रिड नेपालले चारवटा विद्यालय, दुई व्यवस्थापन समिति साथै सातजना शिक्षक र विद्यालय कर्मचारीलाई नगदसहित सम्मान गरेको छ।  रिड नेपालका जिल्ला प्रबन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार २०८० सालको शैक्षिक गतिविधिमा सबै क्षेत्रका उत्कृष्टलाई सम्मान गरिएको हो।  उत्कृष्ट हुने विद्यालयतर्फ फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालय र वडा ४ इखाबुस्थित रानी आधारभूत विद्यालय ‘वेस्ट पर्फमिङ विद्यालय’ का रूपमा नगद ४५ हजार रुपियाँसहित सम्मानित भएका हुन्। 

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजङ्घा माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाकोसुनदेवी माध्यमिक विद्यालय नगद ३० हजार रुपियाँसहित क्रमशः ‘स्टार स्कुल अवार्ड’ र ‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसइई २०८०’ बाट पुरस्कृत भएका छन्।  विद्यालय व्यवस्थापन समितितर्फ सिरिजङ्घा गाउँपालिका–७ खेबाङस्थित गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रकुमार आचार्य (रश्मि) सम्मानित हुनुभएको छ।  

यस्तै फक्ताङ्लुङ गाउँपालिका, इखाबुस्थित बिपुधाम आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रप्रकाश लिम्बू पनि सम्मानित हुनुभएको छ।  विव्यस अध्यक्ष आचार्य र लिम्बूलाई जनही पाँच हजार रुपियाँ ’एसएमसी अवार्ड २०८०’बाट पुरस्कृत हुनु भएको छ।  

रिड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूका अनुसार स्रोत शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेबाङको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार लिम्बू र खेबाङकै पाथीभरा महादेव आधारभूत विद्यालयकी प्रधानाध्यापक बिन्दुकला लिम्बूलाई पुरस्कृत गरिएको छ।  

त्यस्तै फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित पार्वती माध्यमिक विद्यालयका शिक्षक कमलकुमार हेल्लोक पनि पाँच हजार रुपियाँसहित ‘आरएलटी अवार्ड २०८०’ बाट पुरस्कृत हुनुभयो। 

‘स्टार टिचर अवार्ड २०८०’ बाट सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजङ्घा माध्यमिक विद्यालयका लक्ष्मीप्रसाद लिम्बू, फक्ताङ्लुङ गाउँपालिका बिपुधाम आधारभूत विद्यालयका विरेसमान वनेम, इखाबुस्थित सुनदेवी माध्यमिक विद्यालयका सन्तोष राई पुरस्कृत हुनु भएको छ।  

बाल विकास शिक्षक सहजकर्तातर्फ सिरिजङ्घा गाउँपालिका, खेबाङकै महेन्द्र आधारभूत विद्यालयमा कार्यरत रमादेवी विक पुरस्कृत हुनुभएको छ।  त्यस्तै विद्यालय कर्मचारीतर्फ फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी (कार्यालय सहयोगी) रनबहादुर लिम्बू पुरस्कृत हुनुभयो।  उहाँहरूलाई पनि जनही पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको रिड नेपालकी शिक्षा विकास अधिकृत रोमाकुमार माबोले जानकारी दिनुभयो।  

यसैगरी हाल कार्य क्षेत्रभित्र रहेका ३५ वटा सामुदायिक विद्यालयका सर्वोत्कृष्ट अङ्क ल्याउने एक–एक जना विद्यार्थीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गर्न लागिएको पनि माबो लिम्बूले बताउनुभयो।  रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर बोगटीको उपस्थितिमा पुरस्कार तथा सम्मान वितरण गरिएको छ। 

जिल्लाको दुर्गम भेगलाई कार्यक्षेत्र बनाएर रिड नेपालले विगत १६ वर्षदेखि शैक्षिक क्षेत्रमा गतिविधि गर्दै आएको छ।  हालसम्म फक्ताङ्लुङ गाउँपालिकाको वडा ४ इखाबु, वडा ५ तापेथोक, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको वडा ६ मामाङ्खे, वडा ७ खेबाङ र वडा ८ याम्फुदिन रिड नेपालको कार्यक्षेत्र रहेको छ।  अब भने जिल्लाभर नै कार्यक्षेत्र विस्तार गरेको पनि रिड नेपालले जनाएको छ।  

रिड नेपालले कार्य क्षेत्रभित्रका स्रोत नेतृत्व समूहको क्षमता अभिवृद्धिका लागि सोमबार र मङ्गलबार दुई तालिम सञ्चालन गरेको छ।  तालिममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू सहभागी बन्नुभएको रिड नेपालका वित्त अधिकृत तेजप्रकाश उपाध्यायले जानकारी दिनुभयो।