• २१ असार २०८१, शुक्रबार

लुम्बिनीमा १५ जना नगर प्रहरी दीक्षित

blog

लुम्बिनीमा दीक्षित भएका नगर प्रहरीहरु । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, असार १९ गते ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले छनोट गरेका १५ जना नगर प्रहरी दीक्षित भएका छन् । नगर प्रहरीका लागि सञ्चालन भएको तालिम पूरा भएपछि उनीहरुलाई दीक्षित गरिएको हो । उनीहरूलाई रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले हेडक्वाटरले आधारभूत तालिम प्रदान गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नगरपालिकाले छनोट गरेका १५ जनालाई गणले एक महिनासम्म सुरक्षा तालिम प्रदान गरेको थियो । २७ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाका अनुसार तालिममा सहभागीलाई सरकारी सम्पत्ति सुरक्षा, कार्यालय सुरक्षा, विपत व्यवस्थापन, हुलदङ्गा नियन्त्रण, विशिष्ट व्यक्ति सुरक्षा, राहत वितरण, प्राथमिक उपचार, अग्नि नियन्त्रण, नगर प्रहरी आचारसंहिता लगायत व्यावहारिक ज्ञान प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी हेडक्वाटरले स्वीकृत गरेको पाठ्यक्रम अनुसार तालिम प्रदान गरिएको थापाले बताउनुभयो । ‘‘तालिममा सिकेका कुरा अक्षरशः पालना गर्ने विश्वास छ,’’ उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा तपाईंको पेशागत दक्षता थप वृद्वि गर्न सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।’’

तालिम पूरा गरेका नगर प्रहरीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नगर प्रहरीको सक्रियताले सुरक्षा व्यवस्थापनसँगै राजस्व वृद्वि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा विभिन्न विधामा उत्कृष्टलाई सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक हरिश विष्टलगायतको सहभागिता थियो ।