• २१ असार २०८१, शुक्रबार

छारे सडकखण्ड नियमित सञ्चालनको माग

blog

हुम्ला समाचारदाता

हुम्ला, असार १९ गते  । कर्णाली कोरिडोरको छारे सडकखण्ड दैनिक १२ घण्टा सुचारु गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले राजमार्ग अवरोध हटाउने निर्णय गरेको हो । सो सडकको निर्माण कार्य पूरा भएका कारण दैनिक १२ घण्टा सडक सञ्चालनमा ल्याउन माग गर्ने निर्णय गरेको हो । 

प्रजिअ पोखरेलले असजिलो छारे खण्डको सडक निर्माण कार्य पूरा भएका कारण हालका लागि १२ घण्टा सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन लागिएको हो । 

सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाको कर्णाली कोरिडोर निर्माण कार्यदल कालीकोटलाई सडक खुलाउन अनुरोध गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । सो निर्णयको पत्राचार नेपाली सेनालाई स्थानीय प्रशासनले मङ्गलबार नै गर्ने छ । सो सडकमा हाल बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र यातायातका साधन सञ्चालन हुन दिने व्यवस्था गरिएको छ ।

दिउँसो १ बजेपछि ल्याप्चे पुग्ने यातायातका साधन १३ घण्टा ल्याप्चेमै बस्नु परेको छ । उहाँले सेनाले निर्माण कार्य सम्पन्न गरिसकेका कारण बिहानदेखि बेलुकासम्म यातायातका साधन सञ्चालन गर्न उपयुक्त देखिएका कारण नियमित गर्न अनुरोध गरिएको बताउनुभयो । 

सडकमा निर्माण कार्य नहुने तर सडक खुला गरिएको समयबाहेक अन्य समयमा सडक बन्द भएका कारण दुवैतर्फ यातायातका साधनको जाम लाग्ने गरेको छ । रातिको १२ घण्टा भने सडकलाई बन्द गरिने छ । काम सम्पन्न भए पनि सडक विभागलाई हस्तान्तरण कार्य नभएकाले नेपाली सेनाले सुनाखाडामा सडकको सुरक्षा कुरेर बस्दै आएको छ । असार अन्तिमसम्म सेनाले दुल्लीकुनादेखि लालीबगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने अवधि रहेको थियो ।