• २० असार २०८१, बिहिबार

रोल्पा जिप दुर्घटना : एकै वडाका ६ जनाको मृत्यु

blog

रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँमा दुर्घटना भएको जिप ।

जयमान बुढामगर
रुकुमपूर्व, असार १८ गते ।
 रोल्पामा सोमबार साँझ यात्रुवाहक जिप दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जना एकै वडाका छन् । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ ।

रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाने क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरा नजिक सडकभन्दा चार सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा चार महिला, दुई पुरुष र एक बालक छन् । मृत्यु हुनेहरूमा माडी गाउँपालिका–३ का ६ जना छन् । माडी–३ का ७७ वर्षीय खडकबहादुर डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्तीमगर, उहाँका १८ महिनाकी छोरी (नाम नखुलेको), ३३ वर्षीया जुनमाया खड्का, ७० वर्षीय झुपलाल डाँगी, ५० वर्षीया कर्मा घर्तीमगर गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक  परिवर्तन गाउँपालिका–२ राङ्सीका ३२ वर्षीया रामकली पुन हुनुहुन्छ ।

झुपलाल र खडकबहादुर दाजुभाइ हुन् । मृतक जुनमायाका तीन वर्षका बालक हिटलर गम्भीर घाइते छन् ।

दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई रोल्पा अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेमा माडी–३ का ४० वर्षीया दिलकुमारी घर्तीमगर हुनुहुन्छ । उहाँको दाहिने खुट्टामा चोट लागेको छ भने सामान्य अवस्था छ । यस्तै दुर्घटनामा घाइते भएका माडी–३ का ३७ वर्षीय खगेन्द्र बाँठा रोल्पा अस्पतालमा चिकित्सकको निरीक्षणमा उपचार जारी राखिएको छ ।

गम्भीर घाइते भएका ६ जनालाई बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएकाहरूमा जिप चालक परिवर्तन गाउँपालिका–६ का ४५ वर्षीय दीपक थापा, माडी–२ का ३ वर्षीय बालक हिटलर खड्का, माडी–३ का ६० वर्षीया बुढा मगर, ४२ वर्षीया बरमाली घर्तीमगर, १३ वर्षीया प्रतिभा बुढामगर र गङ्गादेव गाउँपालिका–७ का ५२ वर्षीया नैनसिंह पुनमगर हुनुहुन्छ । उहाँहरूलाई सोमबार राती नै बुटवल पठाइएको प्रमुख जिला अधिकारी खिमबहादुर रायमाझीले जानकारी दिनुभयो ।

रोल्पाका प्रहरीका प्रमुख डिएसपी भरत लामाले पहिरोका कारण दुर्घटना हुन पुगेको बताउनुभयो ।  दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुहुँदै उहाँले वर्षातका बेलामा सडक माथिबाट पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको बताउनुभयो । लामाले भन्नुभयो, “जिप चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै चिप्लो भएको कारण जिप सडकबाट तल खसेको अवस्था छ ।”

दुर्घटनाको एक मात्रै प्रत्यक्षदर्शी यात्रु दिलकुमारी घर्तीमगरले चालकले जिप जोगाउन खोज्दा पनि नसकेको बताउनुभयो । घर्तीमगर जिप पछाडि जान खोजेपछि हाम फालेर जोगिनुभएको हो ।