• २० असार २०८१, बिहिबार

प्रविधिको प्रयोग गरेर गुणस्तर मापन गर्दै अन्नपुर्ण गाउँपालिका

blog

अन्नपुर्ण गाउँपालिका–४ स्थित सडकको गुणस्तर नामजाँच गर्दै गाउँपालिकाका इन्जिनियर तथा प्रमुख प्रशासकिय अधिकृत तथा जनप्रतिनिधिहरु ।

अमृतप्रसाद पौडेल

म्याग्दी, असार १८ गते । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण भएका पूर्वाधारको गुणस्तर मापनमा आधुनिक प्रविधिको प्रयोगलाई बढावा दिन थालेको छ । गाउँपालिकाको प्राविधिक शाखाले माग गरेको गुणस्तर मापनका यन्त्रहरु हामीले सकेसम्म खरिद गरेर गुणस्तरीय निर्माणका लागि प्रयास गरेको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

उहाँले भन्नुभयो, "अहिले पहिलो चरणमा स्मीथ रिवाउण्ड ह्याम्बर र कोर कटर खरिद गरेर निर्माण भएका योजनाहरुमा गुणस्तर मापनको काम थालिएको छ ।" गाउँपालिकाभित्र हुने हरेक प्रकारका निर्माण कार्यको गुणस्तर मापन गरेर तोकिएको गुणस्तर अनुरुप काम भएमा उचित भुक्तानी दिने र यदि गुणस्तर भन्दा कम भएको भएमा त्यही अनुरुप रकम घटाएर भुक्तानी गर्ने उहाँको भनाइ छ ।

अन्नपुर्ण गाउँपालिकाका इन्जिनियर इश्वर भण्डारीका अनुसार पहिलो चरणमा अन्नपुर्ण गाउँपालिका–४ नारच्याङस्थित उपभोक्ता समितिले निर्माण गरेको ४५ मिटर र ठेकेदारले गरेको एक सय नौ मिटर सडकको स्थलगत अनुगमन गरिएको छ । अनुगमनका क्रममा ठेकेदारले टेण्डरका समयमा कबोल गरेको गुणस्तर नभेटिएको उहाँले बताउनुभयो । 

गाउँपालिकामा उपलब्ध भएको जिपिएस, लेभल मेसिन, कोर कटर, वेडिङ ब्यालेन्स जस्ता सामग्रीहरु प्रयोग गरेर गुणस्तर मापन गर्ने र भुक्तानीका लागि प्रक्रिया अगाडी बढाइने भण्डारीको भनाइ छ । निकट भविष्यमै गाउँपालिकामै आफ्नै ल्याब निर्माण गरेर ल्याब परीक्षण गरेर भुक्तानी गर्ने योजना बनाइने पनि उहाँले बताउनुभयो ।

अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलिजापुन, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, स्थानीय उपभोक्ता तथा सञ्चारकर्मीहरुको समेत रोहबरमा भएको प्रविधिक पाटो जाँचका क्रममा तोकिएको गुणस्तर नपाइएको उहाँको भनाइ छ । १५ लाख ७३ हजार दुई सय ३८ रुपियाँमा १०९ मिटर सडक ढलान गर्ने जिम्मा शेर्पा निर्माण सेवा प्रालि पोखराले गरेको कामको अनुगमन गर्दा ठेक्कामा तोके अनुसारको गुणस्तर नपाइएको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो । ठेक्काको टेण्डर हाल्ने समयमा गुणस्तर जुन कायम गछू भनेर हालिएको थियो त्यो अनुसार कम पाइएको उहाँको भनाइ छ ।

उपभोक्ता समितिले निर्माण गरेको सडकमा गुणस्तर केही राम्रो पाइएको भए पनि निर्माण कम्पनि मार्फत गरिएको काममा गुणस्तर तोकिएको भन्दा निकै कम देखिएको स्थानीय भीमबहादुर शेर्पुजाको भनाइ छ । उपभोक्ता समितिले गरेको काममा गुणस्तर नहुने र ठेक्का मार्फत काम गर्दा गुणस्तर हुने भन्ने मानसिकताहरु देखिएको अवस्थामा ठेक्काकै काम गुणस्तर हिन देखिएको र उपभोक्ताको काम गुणस्तर राम्रो देखिएको अन्नपुर्ण गाउँपालिका–४ का सदस्य समेत रहनुभएका उहाँले भन्नुभयो ।