• २० असार २०८१, बिहिबार

सगरमाथा आरोहणको इतिहास वृत्तचित्रमा

blog

मेलोरी र इर्भाइनसहित सन् १९२४ को आरोहण दलका सदस्य । तस्बिर : रोयल जोग्राफिक सोसाइटी

फडिन्द्र अधिकारी

लेखनाथ, असार १८ गते । सगरमाथा आरोहणका पहिला तीन अभियानलाई समेटेर तयार गरिएको वृत्तचित्र सोमबार अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा प्रदर्शन गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेस्ट बाई दोज हु वेयर दियर’ डकुमेन्ट्री अब सधैँका लागि सङ्ग्रहालयमै उपलब्ध हुने छ । 

पृथ्वीको सर्वोच्च ठाउँ सगरमाथा चुलीमा मानव पाइला मे २९, १९५३ मा पुगेको कीर्तिमान छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे चुलीमा पुग्नुभन्दा तीन दशकअघि नै सगरमाथा आरोहण अभियान थालिएको थियो । सन् १९२१, २२ र २४ मा भएका पहिला तीन वटै अभियानमा संलग्न हुनुहुन्थ्यो जर्ज मेलोरी । 

मेलोरीकै पाइला पछ्याउँदै शिखर पुगेर फर्केपछि हिलारीले लेख्नुभएको थियो, “मैले बेलायती दुई आरोहीलाई सम्झेँ र झिनो आशाका साथ उनीहरू चुलीमा पुगेको केही सङ्केत छ कि भनेर वरिपरि हेरेँ तर केही देखिनँ ।” दर्जनभन्दा बढी असफल अभियानकै जगमा सगरमाथा आरोहणको मार्गचित्र कोरिएको थियो । सन् १९२४ को अभियानमा आठ हजार छ सय मिटरसम्म पुग्नुभएका मेलोरी र इर्भाइन जुन ८ बाट बेपत्ता हुनुभएको थियो । 

सगरमाथाबारे जान्न चाहने पर्यटकलाई यो डकुमेन्ट्री नियमित रूपमा देखाइने सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताउनुभयो । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेटको छ । सय वर्षअघि सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पासहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेको थियो । त्यही अभियानका तस्बिर ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा दुई हप्तादेखि स्थायी रूपमा प्रदर्शनीमा राखिएका छन् । 

मेलोरी र इर्बाइनले उत्तरी मोहडाबाट जुन ६ मा आरोहण आरम्भ गर्नुभएको थियो । जुन ८ को बिहान अन्तिम पटक सहयात्री ओडेलले उहाँहरूलाई शिखरनजिकै आठ हजार छ सय मिटरतिर देख्नुभएको थियो । उहाँहरू शिखरमा पुग्नुभयो कि बिचमै मृत्यु भयो अझै यकिन भएको छैन । सन् १९९९ मा सगरमाथा अमेरिकी आरोही कनरड एन्करले म्यालरीको कङ्काल आठ हजार १५० मिटरमा भेटाउनुभयो तर उहाँहरूले सगरमाथा आरोहण गरेको प्रमाणित हुने सामान पाइएनन् । मेलोरीकी श्रीमती क्रिस्टिना रुथ टर्नरको तस्बिरसमेत उहाँसँग भेटिएन । जुन तस्बिर मेलोरीले सगरमाथा चुलीमा राख्ने प्रतिबद्धतासहित लिएर जानुभएको थियो । सन् १९३३ मा इर्भाइनको आइस एक्स पत्ता लागेको थियो । पहिला दुई आरोहण अभियानको लक्ष्य चुली पुग्ने बाटो पत्ता लगाउनु थियो । 

सन् १९२४ को अभियानचाहिँ शिखर चुम्ने आकाङ्क्षासहितको थियो । चुलीको नजिकै सम्भवतः चुलीमै पुगेर हराएका आरोहीको कथा सुन्दासुन्दै जोन पिटर पनि पर्वतारोही बन्नुभयो । उहाँ आफैँले सन् १९८० मा सगरमाथा आरोहण गर्नुभयो । “त्यो हिम्मत, त्यो कथालाई बिर्सनु हुँदैन भन्ने लागेर फोटो र वृत्तचित्रमा राख्ने प्रयास गरेका हौँ,” पोर्टरले सुनाउनुभयो । 

सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी उच्च अदालत पोखराका न्यायाधीश धनसिंह महराले उद्घाटन गर्नुभयो । सङ्ग्रहालय हिमाल र हिमाली जनजीवनबारे अध्ययन, अनुसन्धानको केन्द्र बनेको छ । सङ्ग्रहालयमा चालु वर्षमा एक सय पाँच देशका पर्यटकले भ्रमण गरेका छन् ।