मुलुकको राजनीतिमा राणा शासनविरुद्धको सशस्त्र क्रान्तिदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका अनेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक मात्र नेताका रूपमा गिरिजाप्रसाद कोइरालाको नाम इतिहासमा अङ्कित छ । कोइरालाको जन्म विसं १९८१ असार १८ गते भारतको विहार राज्यको टेडी, सहर्षाको निर्वासित परिवारमा भएको थियो । विराटनगर जुट मिलमा मजदुरका रूपमा रहेर २००३ सालमा मजदुर आन्दोलनको अगुवाइ गरेका कोइरालाकै नेतृत्वमा २०६२/६३ को जनआन्दोलन सफल भएको हो । आन्दोलनको सफलतासँगै कोइरालाले राष्ट्र प्रमुख र सरकार प्रमुख दुवैको जिम्मेवारी एकसाथ समाल्ने गौरवपूर्ण अवसर पाउनुभयो । १० वर्षदेखि सशस्त्र विद्रोह गरिरहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याएर राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनार्थ सबै राजनीतिक पार्टीलाई एकजुट बनाएर आफ्नै नेतृत्वमा आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउन खेल्नुभएको भूमिकाकै कारण कोइरालालाई दूरदर्शी राजनेताका रूपमा स्मरण गरिन्छ । चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनुभएका कोइरालाको विसं २०६६ चैत ७ गते असामयिक स्वर्गारोहण भएका कारण संविधान निर्माण प्रक्रिया विलम्ब हुन गयो ।
नेपाली कांग्रेसभित्र मात्र नभएर अन्य राजनीतिक दलका नेताको समेत कोइरालाको निधन भएको १५ वर्ष भइसक्दा पनि मुलुकको राजनीतिमा अभाव अनुभव भइरहेको अभिव्यक्ति आइरहेका छन् । उहाँको जन्म शताब्दीका सन्दर्भमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिकाको विश्लेषण, तस्बिर प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना गरेर स्मरण गरेको छ । सशस्त्र युद्धमा होमिएको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याएर विस्तृत शान्ति सम्झौता गर्न सफल कोइरालालाई अर्का हस्ताक्षरकर्ता वर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाको नायकका रूपमा आफूले सदा स्मरण गरिरहने बताउँदै आउनुभएको छ । उहाँका अभिव्यक्ति र शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन ढिलाइ भइरहेको सन्दर्भमा शान्ति प्रक्रियाका महानायकको अभाव खड्किरहेकै छ ।
कोइराला सिद्धान्ततः कम्युनिस्ट पार्टीहरूसँग कुनै किसिमको सहकार्य गर्न नहुने मान्यता राख्नुहुन्थ्यो । जीवनको उत्तरार्धमा आएर परिस्थितिले कम्युनिस्टहरूसँग सहकार्य गर्नैपर्ने बाध्यता सिर्जना भयो र सामूहिक शक्तिको बलले गणतन्त्र स्थापना भयो । बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा अडिग हुँदाहुँदै पनि परिस्थिति हेरेर खुला अर्थतन्त्र अगाडि बढाउनु उहाँको दूरदर्शितापूर्ण सुझबुझ मान्न सकिन्छ । विसं २०४८–२०५१ को सरकारले ल्याएको खुला आर्थिक नीतिकै जगमा अहिले पनि अर्थतन्त्र चलिरहेको छ । उहाँले विसं २०३१ देखि २०४७ सम्म कांग्रेसको महामन्त्री र २०५३ सालमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनबाट पार्टी सभापति भएदेखि लगातार पार्टी सभापति रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहद्वारा ‘एसियाकै महान् नेता’ भएको सम्मानपूर्ण अभिव्यक्ति आउनुले कोइरालाको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि उजागर गर्दछ ।
कोइरालाले जीवनको उत्तरार्धमा सहमति, सहकार्य र एकतामा जोड दिनुभयो । यसले उहाँलाई मुलुकको राजनीतिको मियो बनायो । सक्रिय राजनीतिमा ६० वर्षभन्दा लामो समयसम्म संलग्न रहेर चार पटक प्रधानमन्त्री हुनुका साथै अनेक दुःखकष्ट र हन्डर सहँदै खारिएको व्यक्तित्वको अवसानपछिको १५ वर्षसम्म पनि अधुरो रहेको शान्ति प्रक्रियालाई किनारा लगाउन कठिन भइरहेको छ । सात राजनीतिक दल र माओवादीबिच भएको १२ बुँदै समझदारीदेखि अगाडि बढेको शान्ति प्रक्रियाले विसं २०६३ मङ्सिर ५ गते सरकार र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि निकास पाएको हो । छ महिनाभित्र बाँकी काम टुङ्गो लगाउने सम्झौतामा उल्लेख भए पनि अझै अधुरो छ । लामो समयको अलमलबिच प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउनेतर्फ अगाडि बढेका छन् ।
संसद्मा अड्किएको विधेयकलाई सहमतिका आधारमा अगाडि बढाउन प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट एक/एक जना रहेको कार्यदल गठन गरिएको छ । आइतबार गठित सो कार्यदलमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादीबाट पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरलाई जिम्मेवारी सुम्पिएको छ । विधेयकका खास गरी चार बुँदामा सहमति हुन बाँकी रहेको विदित हुन्छ । मानव अधिकारको विषय, क्रूरतापूर्ण हत्या, द्वन्द्व प्रभावितलाई गर्नुपर्ने सम्बोधन एवं मेलमिलापको प्रक्रिया र सजायको मात्रा निर्धारण सम्बन्धमा कार्यदलले सहमति जुटाउनुपर्ने छ । ‘हात्ती छि¥यो, पुच्छर अड्कियो’ भने जस्तो देखिएको शान्ति प्रक्रियाको बाँकी कामलाई जतिसक्दो छिटो टुङ्ग्याउनु नै महानायक कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली ठहर्ने छ ।