• १९ असार २०८१, बुधबार

ट्रयाक खुलेको ३३ वर्षमा पनि भानुमार्गको काम अधुरै

blog

भानुमार्ग कालोपत्रे नगरेको विरोध स्वरुपमा सडकमा रोपाइँ गर्दै स्थानीय । तस्बिर : गोरखापत्र

अमरराज नहर्की 

तनहुँ, असार १७ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको तनहुँको भानु नगरपालिका अन्तर्गत पर्ने भानुमार्गको काम ट्रयाक खुलेको ३३ वर्षसम्म पनि अधुरै छ ।

भानु मार्गमा पर्ने चन्द्रावती बजारदेखि ठुलो ढुङ्गासम्मको १० किलो मिटर स्तरोन्नतिको काम अधुरै भएको हो । पानी पर्दा हिलो र नपर्दा धुलो र ठाउँठाउँमा ठुलठुला खाल्डा हुँदा वर्षातमा स्थानीयले आवतजावतमा समस्या झेल्नु परेको छ । कच्ची र धूले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न कठिन हुने गरेको छ । 

कृषि उपज बिक्री गर्न, पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउने उद्देश्यले २०४९ सालमा राष्ट्रपति रामचन्द्र पौडेल स्थानीय विकास मन्त्री हुँदा ट्रयाक खोलिएको भए पनि स्तरोन्नतिको लागि रकम थोरै विनियोजन हुने र ठेक्का पाएको ठेकदारले समयमा काम नगर्दा आवतजावतमा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो। वडाध्यक्ष अधिकारीले भन्नुभयो, "सडकको कन्त बिजोग छ वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने हुँदा वषौँदेखि सास्ती व्यहोर्नुपरेको छ ।" आठ वर्ष अघि २०७३ सालमा २३ करोड दुई लाख ८० हजार छ सय ६१ रुपियाँमा सडक स्तरोन्नतिको लागि ठेक्का पारेको शङ्करमाली निर्माण सेवाले आफूले काम नगर्ने, पेटी ठेकदार लगाउने गरेकोले काम अधुरै रहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले भन्नुभयो, "दुई वर्षमै पूरा हुनुपर्ने काम आठ वर्षसम्म पनि पूरा भएन अझै दुई वर्षको लागि म्याद थप भएको कुरा सुनेको छु ।"

वर्षौँदेखि भानुमार्ग जस्ताको तस्तै राखेको कालोपत्रे नगरेको भन्दै  विरोधस्वरुप भानु १३ का स्थानीय जनताले सडकमै धान रोपेका हुन् । स्थानीय कृष्ण गुरुङ वर्षौँदेखि भानु मार्ग जस्ताको तस्तै भएकाले विरोधस्वरूप बाध्य भएर सडकमा धान रोपिएको बताउनुभयो । गुरुङ भन्नुहुन्छ, “यो अति भयो यहाँका जनताले विकासको अनुभूति गर्न पाएनन् सडकको हालत झन् खराब भयो, सम्बन्धित निकायको ध्यान जाओस् भनेर सडकमा धान रोपेका हौँ ।" उपभोक्ता गुरुङ अनुसार यस मार्गको हालसम्मको भौतिक प्रगति २७ प्रतिशत मात्रै छ । 

भानु मार्ग २०२३ सालमा डुम्रेबाट चन्द्रावतीको लागि ट्रयाक खुलेको थियो । चन्द्रावतीबाट ठुलो ढुङ्गा सम्मको लागि ३३ वर्ष अघि सडक खुलेको थियो । चन्द्रावती निवासी कुबेर खनाल यो मार्गको सडक सुधारको लागि पटक पटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकार समक्ष धाएको भए पनि अधुरै रहेको बताउनुभयो । भानुमार्गमा ठाडो खोलो धेरै भए पनि कल्भट पुल बन्नुपर्ने ठाउँमा कल्भट बनेकोले ठुलो पानी परेको बेला कल्भट पुर्ने, बगाउने गरेकोले आवत जावतमा समस्या झेल्नुपरेको खनाल बताउनुहुन्छ ।