• १८ असार २०८१, मङ्गलबार

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

blog

फाइल तस्बिर

नेपालगन्ज, असार १६ गते । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । 

नगर प्रमुख प्रशान्त विष्टले विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताउनुभयो । उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिनुभयो । 

संयोजक सिंहका अनुसार विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिनेछ । जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ । उहाँले त्यसका लागि झन्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको उल्लेख गर्नुभयो । उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने र १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ । 

१५ लाखको बीमा गर्दा पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिनुभयो । नेपालगन्जका वडा नम्बर ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

त्यसैको पहलमा सो काम भइरहेको हो । सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नम्बर ३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको बताउनुभयो । रासस