• १८ असार २०८१, मङ्गलबार

पर्यटक भित्र्याउने रणनीति

blog

मान्छे स्वभावैले जिज्ञासु प्राणी हुन्छ । उसलाई नयाँ भूगोल घुम्ने, नयाँ मान्छेसँग भेट्ने, नयाँ सामाजिक रहनसहनमा घुलमिल हुने रहर हुन्छ । यी सबै रहर एक ठाउँमा बसेर पूरा हुँदैनन्, त्यसका लागि फरक फरक ठाउँमा जानुपर्ने हुन्छ । यसरी केही दिनका लागि कामले भन्दा पनि यत्तिकै रहरले आउने जाने पर्यटक हुन् । नेपाल पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ हो किनभने यहाँ केही घण्टाको यात्रामा गर्मी र समथर भूगोलबाट चिसो र अग्लो पहाडमा जान सकिन्छ । नेपालको भूगोलले मात्र पर्यटनको सम्भावना बोक्दैन, यहाँको बहुआयामिक धर्म, संस्कृति, वेशभूषा र रहनसहनले पनि उत्तिकै सम्भावना बोक्छ ।

नेपालको अहिलेसम्म १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो, जुन अहिले आएर पूरा भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटले झन्डै डेढ गुणा अर्थात् १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक २०२३’ बमोजिम नेपालमा गत वर्ष आकाशमार्फत ९,१४,२७० र जमिनमार्फत १,००,६१२ पर्यटक गरी जम्मा १०,१४,८८२ पर्यटक भित्रिए । पर्यटक आउने प्रमुख पाँच देशमा क्रमशः भारत, अमेरिका, चीन, बेलायत र अस्ट्रेलिया रहे । उनीहरूको नेपालमा औसत बसाइ अवधि १३.२ दिन रह्यो । बिदा मनाउन ६२.५ प्रतिशत, तीर्थाटन गर्न १३.१० प्रतिशत, ट्र्याकिङ र हिमाल चढ्न १५.२ प्रतिशत र अन्य ९.२ प्रतिशत पर्यटक आए । गत वर्ष पर्यटन व्यवसायबाट नेपालको आम्दानी ५,४८,२०० हजार डलर रह्यो भने औसतमा प्रति पर्यटकले प्रतिदिन ४१ डलर खर्च गरेको देखियो ।

पर्यटककेन्द्रित पर्यटन नीति 

आव २०८१/८२ को सरकारको नीति तथा कार्यक्रममा नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्धन गर्ने उल्लेख छ । नीति तथा कार्यक्रम बनाउँदा अब पर्यटकको नजरियाबाट बनाउनु पर्छ । हामीकहाँ कस्ता कस्ता खालका पर्यटक आइराखेका छन् ? उनीहरू के का लागि आउँछन् ? उनीहरू जे उद्देश्य बोकेर आएका थिए, त्यो पूरा भयो कि भएन ? उनीहरूले कुनै सुझाव दिएको भए त्यसमा विचार गरियो कि गरिएन आदि कुराको विश्लेषण गरी पर्यटन नीति बनाउनु पर्छ । हामीले बनाएको मन्दिर, हाम्रो हिमाल पहाड हेर्न आइहाल्छन् भनेर हँुदैन । उनीहरूले के खोजेका हुन्छन् ? हामीले के देखाउन खोजेका छौँ ? त्यसमा पहिला स्पष्ट हुनु पर्छ ।

पर्यटकले ठाउँ छनोट गर्दा उसको रुचि, पेसा, रहर अनुसार र कोही अध्ययन अनुसन्धानका लागी गर्छन् । गर्मी र समथर ठाउँको मान्छेले पहाड र हिमालको सुन्दरता र शीतलता अनुभव गर्न चाहलान् । कोही सिभिल इन्जिनियर रहेछ भने उसले त्यहाँ बनेका संरचना, पूर्वाधार, बस्ती विकास बुझ्न रुचि देखाउला । कोही समाज संस्कृतिसँग सरोकार राख्ने रहेछ भने उसलाई त्यहाँको भाषा, एतिहासिक ठाउँ, रहनसहनमा दिलचस्पी होला ।

पर्यटक विभिन्न पृष्ठभूमिका हुन्छन् । एउटाको उदेश्य अर्कोसँग नमिल्ला । त्यसैले सबै खाले पर्यटकलाई समेट्ने गरी पर्यटक केन्द्रित पर्यटन नीति बनाउनु पर्छ । पर्यटन व्यवसायमा पर्यटकको सङ्ख्या र पर्यटकको बसाइ अवधि महत्वपूर्ण हुन्छ । योजनाबद्ध र व्यवस्थित रूपमा सकेसम्म धेरै पर्यटकलाई धेरैभन्दा धेरै दिन बसाइ अवधि गराउने किसिमको रणनीति बनाई पर्यटन पूर्वाधार निर्माण गरिनु पर्छ ।

मानौँ, कुनै एउटा पर्यटकीय गन्तव्य स्थल छ भने त्यहाँ जान सक्ने यातायातका रुट, नक्सा, त्यहाँको जनसङ्ख्या, सो ठाउँको विस्तृत विवरण, सुरक्षाको स्थिति, जोखिमको स्थिति, हावापानीको स्थिति आदिको बारेमा सत्यतथ्य जानकारी सम्प्रेषण गर्नु पर्छ । पर्यटकलाई अति आवश्यक हुने सुरक्षित आवास, बैङ्क, खानपान, सञ्चार, यातायात आदि सुविधाको उचित प्रबन्ध मिलाउनु पर्छ । 

डिजिटल प्रचारप्रसार गर्नुपर्ने 

पर्यटन व्यवसाय भनेको एक किसिमको विज्ञापन नै हो । विज्ञापन भनेको आफ्नो उत्पादनको सम्भावित उपभोक्ता सामु प्रचारप्रसार गर्नु हो । नेपालमा पर्यटक बढाउने किसिमको प्रचारप्रसारमा कमी देखिन्छ । विदेशीको त कुरा छोडाँै, कतिसम्म भने थुप्रै नेपालीलाई नै नेपालमा कहाँ के छ भन्ने थाहा छैन । सामान्यतया आफ्नो साथीभाइको सल्लाहबाट, अखबारबाट, सामाजिक सञ्जालबाट सम्भावित पर्यटकीय गन्तव्यस्थलको बारेमा जानकारी प्राप्त गर्छन् । र सोही अनुसार योजना बनाउँछन् ।

विस्तृत पर्यटन तथ्याङ्क तयार हुनुपर्ने 

भविष्यको योजना बनाउन वर्तमान स्थिति राम्रोसँग थाहा हुनु पर्छ । अहिले भए गरेका पर्यटकीय स्थलको सबै खाले तथ्याङ्क सङ्कलन गर्नु पर्छ । जस्तैः जनकपुरको जानकी मन्दिरको डाटावेश तयार गर्ने कार्यमा विभिन्न जानकारी जस्तै : विगत १० वर्षमा कुन कुन देशबाट कति पर्यटक आए ? उनीहरूले त्यहाँको के कुरा मन पराए र केमा चित्त बुझाएनन् ? उनीहरूको बसाइ अवधि कति दिन रह्यो ? कुन माध्यमले उनीहरूलाई जानकी मन्दिर 

आउने वातावरण बनायो ? त्यहाँ जानकी मन्दिरको अलावा अन्यत्र कता कता घुम्न गए ? उनीहरूको जानकी मन्दिरको भ्रमणको कस्तो अनुभव रह्यो ? लगायतका तमाम सूक्ष्म विषयवस्तुको जानकारी माग्ने र त्यसको सङ्कलन गर्ने गर्नु पर्छ । यसबाट भविष्यमा पर्यटनसम्बन्धी उपलब्धिमूलक नीति अवलम्बन गर्न सघाउ पुग्छ । यसका लागि उनीहरूलाई विभिन्न प्रश्नको सूची बनाएर सोध्ने र आफ्ना अनुभवहरू व्यक्त गर्न मिल्ने प्लेटफर्म तयार हुनु पर्छ ।

पर्यटन विकास समृद्धको आधार

सार्क राष्ट्र माल्दिभ्समा कुल जिडिपीको २८ प्रतिशत पर्यटनको हिस्सा छ भने भारतको गोवामा पर्यटन क्षेत्रको कुल जिडिपीमा १६.४ प्रतिशत योगदान छ । नेपालको भूगोल, संस्कृति, भाषा, रहनसहन पर्यटनलाई उकास्ने किसिमको छ । 

पर्यटनले ठुलो मात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमका रोजगारी सिर्जना गर्छ । विभिन्न देशका पर्यटक आउँदा जाँदा उनीहरूबाट ज्ञान, सिप, प्रविधि, संस्कृतिको पनि आदानप्रदान हुन्छ । नखोजिएका नवीन पर्यटन गन्तव्य स्थलको खोजी हुनु पर्छ । यहाँको हिमाल पहाडले मात्र पर्यटक लोभ्याउँदैनन्, मधेशले पनि गर्न सक्छ, त्यसको खोजी हुनु पर्छ । 

अबको पर्यटन विकास वैज्ञानिक, सिर्जनात्मक, योजनाबद्ध, कलात्मक र नतिजामुखी तवरले गरिनु पर्छ । पर्यटक लक्षित, तथ्यमा आधारित, सूचना प्रणालीसँग जोडेर, पर्याप्त प्रचारप्रसार गरेर पर्यटन व्यवसायलाई राष्ट्रको एक समृद्धिको आधारको रूपमा उभ्याउनु पर्छ । नयाँ नयाँ साहासिक पर्यटनको विकास, ट्र्याकिङ रुटको विकास, हिमाल आरोहणमा सहजता, सुविधासम्पन्न होटेल तथा होमस्टे विकास, पर्यटक सुरक्षाको प्रत्याभूतिलगायतका नयाँ तथा मौजुदा पर्यटकीय अवयवको व्यवस्थापन, खोजी र प्रवर्धनमा ध्यान दिनु पर्छ ।