• १८ असार २०८१, मङ्गलबार

दाबेदार स्पेनलाई नवप्रवेशी जर्जियाको चुनौती

blog

कोलोन (जर्मनी), असार १६ गते । समूह चरणमा तीनै खेल जितेपछि स्पेनलाई युरोपेली च्याम्पियनसिप–२०२४ को प्रमुख उपाधि दाबेदार मानिएको छ । आफ्नो यस छविलाई कायम राख्न क्वाटरफाइनलमा पुग्न स्पनेले आइतबार नवप्रवेशी जर्जियाको सामना गर्ने छ ।

जर्जिया समूह चरणको अन्तिम खेलमा पोर्चुगल जस्तो ठुलो टिमलाई हराएर नकआउटमा पुगेको हो । जर्जिया स्पेनविरुद्धको खेलमा अर्को स्तब्धकारी नतिजा निकाल्ने आशामा छ । यद्यपि समूह चरणमा गत विजेता इटालीलाई पनि हराएको स्पेनले प्रिक्वाटरफाइनलमा सहज प्रतिद्वन्द्वी पाएको छभन्दा फरक पर्दैन । गत वर्ष स्पेनले छनोट चरणमा जर्जियालाई दुई पटक सजिलै हराएको थियो । एक खेलमा स्पेनले जर्जियालाई ७–१ ले हराएर अपमानित गरेको थियो । जुन खेलमा गोल गरेर स्पेनका लामिने यमाल युरो छनोटमा सबभन्दा कान्छो गोलकर्ता बन्नुभएको थियो । यमालले १६ वर्ष दुई महिनाको छँदा सो कीर्तिमान राख्नुभएको हो । यद्यपि यस अवधिमा जर्जियाले आफ्नो खेलमा निकै सुधार गरिसकेको छ । पोर्चुगलविरुद्धको जित त्यसको प्रमाण हो । विशेषतः जर्जिया प्रत्याक्रमणमा खतरनाक देखिएको छ ।

स्पेनका मिडफिल्डर रोड्री एक खेलको कारबाहीपछि टिममा फर्कनु हुने छ । त्यसैले प्रशिक्षक लुइस डी ला फुयन्टेलाई पूरा टिम उपलब्ध छ । यद्यपि डानी काराभालसहित तीन डिफेन्डरले जर्जियाविरुद्ध सचेत भएर खेल्नुपर्ने छ । जर्जियाविरुद्ध कार्ड बेहोरेमा यी तीनै खेलाडीले क्वाटरफाइनल खेल गुमाउने छ । जर्जियाका मिडफिल्डर एन्जोर मेकभाविस्भिलीले भने स्पेनविरुद्धको खेल पाउनुहुने छैन । यसै गरी जर्जियाका कप्तान गुराम कासियासहित चार खेलाडीले पोर्चुगलविरुद्ध पहेँलो कार्ड बेहोर्नुभएको थियो ।

स्पेनविरुद्ध खेलमा जर्जियालाई स्ट्राइकर जर्जेज मिकाउटाजेबाट ठुलो अपेक्षा रहने छ । उहाँले समूह चरणमा तीन गोल गर्नुभएको थियो । चालु प्रतियोगितामा स्पेनका कुनै पनि खेलाडीले एकभन्दा बढी गोल गर्न सकेका छैनन् ।

जर्जियाका फरवार्ड ख्विचा क्वाराट्सखेलियाले पनि यस प्रतियोगितामा केही टिम कमजोर नभएको र स्पेनलाई हराउन नसकिने होइन, भन्नुभयो । यसै गरी स्पेनका लेफ्ट ब्याक अलेज्यान्द्रो ग्रिमाल्डोले आफ्नो टिम युरो ट्रफी उचाल्न जर्मनी आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “केही महिनाअघि हामी उपाधि दाबेदार थिएनौँ तर अहिले हामीलाई उपाधि दाबेदार मानिएको छ ।”

इङ्ग्ल्यान्ड–स्लोभाकिया

युरोपेली च्याम्पियनसिप २०२४ मा इङ्ग्ल्यान्डले समूह चरणमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । समूह सीमा इङ्गल्यान्डले तीन खेलमा मात्र दुई गोल गरेको थियो । जसले प्रशिक्षक गारेथ साउथगेटको रणनीतिमा प्रश्न पनि खडा भएको छ ।  प्रशिक्षक साउथगेटसमक्ष फोडेन, युड बेलिङघम, बुकायो साका र हेरी केनजस्ता अग्रपक्तिँका खेलाडीलाई सही ढङ्गले व्यवस्थापन गर्ने ठूलो चुनौती छ । गत उपविजेता इङ्ग्ल्यान्ड स्वाभाविक प्रदर्शन गर्न नसके पनि समूह विजेता बनेर प्रिक्वाटरफाइनलमा पुगेको हो । 

स्लोभाकिया स्वतन्त्र राष्ट्र भएपछि दोस्रो पटक नकआउट चरणमा पुगेको हो । यद्यपि स्लोभाकियाले अन्तिम १६ भन्दा परको यात्रा गरेको छैन । समूह चरणमा बेल्जियमलाई हराएकाले इङ्ग्ल्यान्डलाई स्लोभेनियासँग सतर्क हुनुपर्ने अवस्था छ । इङ्ग्ल्यान्डलाई प्रभावशाली खेलाडी फिल फोडेनको सेवा पनि प्राप्त हुने छैन । फोडेन आफ्नो छोरा जन्मेपछि इङ्ग्ल्यान्ड फर्कनुभएको छ ।

इङ्ग्ल्यान्ड स्लोभाकियासँग हारेको भने छैन । यी दुई देशबिच अहिलेसम्म भएका छ खेलमध्ये इङ्ग्ल्यान्डले पाँचमा जित हासिल गरेको छ भने एक बराबरीमा सकिएको थियो । एपी