• १७ असार २०८१, सोमबार

बागलुङमा पहिरोले दुई जनाको मृत्यु

blog

फडिन्द्र अधिकारी
लेखनाथ, असार १५ गते । 
शनिबार भएको वर्षाका कारण बागलुङमा आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर ८ बिसौना बस्ने ५५ वर्षीय प्रेम विक र ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । उहाँहरू श्रीमान् श्रीमती हुनुहुन्छ ।

ढुङ्गा माटोले बनेको विक परिवारको कच्ची घरदेखि अन्दाजी तीन सय मिटर माथिबाट आएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गलकोट–८ का वडाध्यक्ष तेजप्रसाद सापकोटाले टेलिफोनमार्फत मानिस पुरिएको जानकारी दिएपछि प्रहरी निरीक्षक थमनसिंह रानाको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उक्त घरबाट प्रेमकी बुहारी र नाति दुई जनालाई भने सकुशल उद्धार गरिएको छ ।

पहिरोले गोठ पुरिँदा एक भैँसी र तीन बाख्रासमेत मारिएका छन् । सोही पहिरोले नजिकै रहेको गिरीप्रसाद बुढाथोकीको गोठसमेत पुरेको छ । बुढाथोकीको गोठमा रहेका तीन भैँसी र दुई बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् ।