• १७ असार २०८१, सोमबार

अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा

blog

शिवराज ढुंगाना
अछाम, असार १५ गते । 
बालबालिकाहरूले खोप लाएको सुनिश्चितता पश्चात् अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ शनिबार मङ्गलसेनमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

९१ वटै वडा र दशवटै स्थानीय तहका खोप लाउने उमेरका बालबालिकाहरूले सबै प्रकारका खोप लाएको प्रमाणीकरण गरेपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएका हो । जन्मेदेखि १५ महिनासम्मका चारहजार ३२४ जना बालबालिकालाई खोप लाएको बताइएको छ । यस्तै १६ देखि ५९ महिनासम्मका १२ हजार ४२५ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चिततापछि जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको हो । 

गएको जेठ २८ बाट असार ३ गतेसम्म स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता गरिएपछि अनुगमन पश्चात् जिल्लालाई घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो । सबै बालबालिकाहरूले पूर्ण रूपमा खोप पाएको सुदूरपश्चिम प्रदेशको खोप समन्वय समितिले अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र प्रदान गरिएको छ ।

पूर्णखोप सुनिश्चितता घोषणाका क्रममा सहभागी स्थानीय तहका प्रमुखले खोपमा मात्र नभई समग्र स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्नेमा बाध्यता आइलागेको भनाइ राख्नुभएको छ । स्वास्थ्यमा भौतिक संरचना, मानवीय शक्ति र अपुग बजेटका कारण स्वास्थ्यको क्षेत्रमा अपेक्षाकृत रूपमा पूरा नभएको जनप्रतिनिधिहरूको भनाइ रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले समयमै स्वास्थ्य परीक्षण कृषिमा जोड दिएर स्थानीय खाद्यान्नको उपयोगमा जोड दिनुभयो ।

२०६९ पुस १४ गते नेपालमै पहिलो पटक साबिकको भागेश्वर गाविसलाई पूर्णखोपयुक्त घोषणा गरिएको थियो । २०७१ भदौ २८ गते तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो ।