• १७ असार २०८१, सोमबार

असार १५ मा सामूहिक भोज

blog

रवीन्द्र उप्रेती

बर्दिबास, असार १५ गते । महोत्तरीका स्थानीय तहहरूले यो वर्ष धान दिवस मनाउन चासो नदिए पनि बर्दिबास नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान र दही चिउरा भोज गरेर असार १५ मनाएको छ । नगरपालिकाले वडा नं १४ का ज्येष्ठ नागरिकलाई पहिलोपटक सम्मान गर्नुका साथै दही चिउरा र आँपको सामूहिक भोज गरेको हो । 

बर्दिबास-१४ मा शनिबार आयोजित कार्यक्रममा मेयर प्रह्लाद क्षेत्री, वडाध्यक्ष विजय महतो लगायतले वडाका १६१ ज्येष्ठ नागरिकलाई दोसल्ला, छाता र कदरपत्रसहित पालैपालो सम्मान गर्नुभएको थियो । त्यसपछि असार १५ को सामूहिक भोजको आयोजना गरिएको थियो । 

नगरपालिकाको सम्मानसहित पहिलोपटक सामूहिक रूपमा असारको १५ मनाउन पाएकोमा ज्येष्ठ नागरिकहरू दङ्ग छन् । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिक ९१ वर्षिया अम्बिका अधिकारीले असारको १५ का अनेकन् घटनाक्रम अहिले पनि ताजा रहेको बताउनुभयो । उतिबेलाका ठेकीको दही, ढिकीका चिउरा, रुखमै पाकेका आँप, माइतबाट आएका कोसेली, झमझम वर्षा, रोपाइँका चहलपहल सहित असारको १५ का सबै विगतहरू सम्झिन थाल्नुभयो । 

आजकाल भने प्लास्टिकको भाँडोका दुध दही, मिलका चिउरा र औषधी (कार्बोहाइड्रेट) ले पकाएका आँपले गर्दा असार १५ को स्वाद हराएको उहाँले अनुभव सुनाउनुभयो । तथापि थला पर्न लागेको बेला सबै ज्येष्ठ नागरिकलाई एउटै थलोमा भेला गराई मानसम्मान र सामुहिकरुपमा असार १५ मनाउन पाएको भने यो पहिलो अनुभव सुनाउनुभयो । 

"यो मान सम्मानले अब एक्लो र बेसाहारा छुइन भन्ने लागेको छ," ९१ वर्षिया अधिकारीले भन्नुभयो । सम्मान पाउनु हुने ७० वर्षीय अर्का ज्येष्ठ नागरिक चिरञ्जीवी हमालले नगरको कदर र सामूहिक असार १५ को प्रशंसा गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकले पाउनु पर्ने सेवा सुविधा घरमै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । 

नगरप्रमुख प्रह्लाद क्षेत्रीले ज्येष्ठ नागरिकहरू नगरको पथप्रदर्शक, इतिहासको संवाहक र सभ्यताको गौरव भएकोले उहाँहरूको सेवा र सम्मानमा नगरपालिकालै कुनै कमी आउन नदिने प्रतिबद्धता जनाउनुभयो । 

असार १५ को सामूहिक भोजमा दही ५० केजी, चिउरा २० र आँप ५० किलो र सम्मानका लागि आवश्यक दोसल्ला, छाता र कदरपत्रसमेत गरी दुई लाख खर्च भएको जनाइएको छ । वडाध्यक्ष विजय महतोले भन्नुभयो, "वडाभरिका हजुरबा हजुरआमासँग पहिलोपटक असार १५ मनाउने अवसर र आशीर्वाद पाउनु नै हाम्रो गौरव हो ।"