• १७ असार २०८१, सोमबार

ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

blog

तस्बिर:रासस

पाटन (ललितपुर), असार १५ गते । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । 

त्यस अवसरमा उहाँले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताउनुभयो । महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । “कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्ने छ, यसले आर्थिक-सामाजिकरुपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नम्बर २६ का अध्यक्ष सुरेश महर्जन र वडा नम्बर २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरुप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताउनुभयो । उहाँहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गर्नुभयो । रासस