• १७ असार २०८१, सोमबार

बालबालिकामा पनि मानसिक स्वास्थ्य समस्या

blog

मानसिक स्वास्थ्य कार्ययोजना विषयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, असार १५ गते । कर्णाली प्रदेशमा वयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या रहेको पाइएको छ । एन्जाइटी र डिप्रेसनलगायत विभिन्न कारणले वयस्कका साथै बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना र अवस्थाका विषयमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी दिइएको हो । 

प्रदेशका युवा तथा बालबालिकाको विद्यमान अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या चुनौतीका रूपमा देखा परेको बताउनुभयो । 

उहाँले १६ लाख ८८ हजार जनसङ्ख्यामध्ये वयस्क ११.७ प्रतिशत जनसङ्ख्या मानसिक स्वास्थ्यको समस्याबाट ग्रसित भएको जानकारी दिनुभयो । यस्तै चार प्रतिशत बालबालिका पनि मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएको उहाँले बताउनुभयो ।

उहाँले अझै पनि नेपालमा ७० प्रतिशत मानिस मानसिक स्वास्थ्यको सहज पहुँचमा पुग्न नसकेको बताउँदै यस क्षेत्रमा सरकारको लगानी एक प्रतिशत पनि नभएको उल्लेख गर्नुभयो । 

घर घरमा मानसिक स्वास्थ्यको समस्या भोगेका व्यक्ति रहेको हुँदा यसको उपचार सेवा सहरकेन्द्रित मात्रै नभएर जिल्ला तथा पालिकासम्म आवश्यक रहेको उहाँको भनाइ छ । 

मानसिक स्वास्थ्य समस्या भोगेकालाई सामाजिक भेदभाव तथा लाञ्छना र अन्धविश्वास बढी भोगेको स्मरण गर्दै डा. समदर्शीले भन्नुभयो, “जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ ।” 

कलिलो उमेरका बालबालिका नै मानसिक स्वास्थ्यको समस्याबाट पीडित भएको हुँदा त्यसका लागि राज्यलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्ने, उच्च मनोबलका साथ मनोपरामर्श र उपचार गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । 

मुख्यमन्त्री यामलाल कँडेलले ध्यान नदिई ओझेलमा पारिएको मानसिक स्वास्थ्यको सेवालाई गम्भीर रूपमा लिएर यसको उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । 

यसको उपचार नगरे जटिल र विकराल समस्या आउन सक्ने भन्दै उहाँले अन्धविश्वासलाई पनि हटाउनुपर्नेमा जोड दिनुभयो । बालबालिका, वयस्क, ज्येष्ठ नागरिक पीडित भएको हुँदा निराकरणका लागि प्रवर्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रूपमा लिएर मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको जानकारी उहाँले दिनुभयो ।

सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, योजना बनाएको बताउनुभयो । साथै कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएका सिएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतले कर्णाली प्रदेशले मानसिक स्वास्थ्य समस्या समाधानका लागि पहिलो पटक कार्ययोजना बनाई न्यूनीकरणका काम गर्न थालेकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा मानसिक स्वास्थ्यबाट पीडित सल्यानकी सुशीला चन्दले मानसिक स्वास्थ्यबाट पीडित भएकाको उपचारका लागि आयआर्जनलगायतका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । 

उपचारपछि नयाँ जीवन पाउन सकिने भएकाले पीडितलाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रममा संलग्न गराउन सके मानसिक रोगको समस्यामा कमी आउने उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा कर्णाली प्रदेश सभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारी, स्विस दूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोख्रेललगायतले उपचार गर्दा निको हुने मानसिक स्वास्थ्य कार्ययोजनाका विषयमा चर्चा गर्नुभएको थियो ।