• १७ असार २०८१, सोमबार

ग्रामीण सडक जीर्ण

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असार १५ गते । एक वर्षअघिको बर्खाको पानीले क्षति पु¥याएका ग्रामीण भेगका सडक अझै पनि बन्न सकेका छैनन् । जाजरकोट सदरमुकाम खलङ्गादेखि गाउँपालिका तथा नगरपालिकामा जोडिएका सडक पहिरोले अवरुद्ध छन् । 

सर्वसाधारणलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकामदेखि बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका जाने सडक अवरुद्ध भएका छन् । 

स्थानीय तहले लाखौँ बजेट खर्च गरी खनेका ग्रामीण सडक स्तरोन्नति नगर्दा सवारीसाधनलगायत यात्रुलाई सास्ती हुने गरेको छ । भेरी नगरपालिका–४, गैरीखालीदेखि पाँचकाटियासम्म सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले गत वर्ष काम छोडेपछि अलपत्र परेको छ ।

सदरमुकामदेखि पाँचकाटिया पुग्न सवारीसाधनलगायत यात्रुलाई सास्ती हुने गरेको छ । पाँचकाटियादेखि मालुमेला हुँदै कुसे गाँउपालिकाको थर्पु भार्मा जानका लागि स्थानीय सरकारले सडक निर्माण गरेको हो । 

सो सडकलाई स्तरोन्नति नगरेपछि गाउँपालिकाको प्रशासनिक केन्द्र पुग्नसमेत कठिन हुने गरेको छ । भेरी नगरपालिका–२ का बिर्खबहादुर कार्कीका अनुसार स्थानीय तहको लाखौँ बजेट सडक निर्माणमा लगानी गरे पनि बाह्रै महिना गाडी चल्ने अवस्था छैन । 

सरकारको बजेट बालुवामा पानी हालेसरह भएको छ । शिवालय गाँउपालिका–१, मोर्कबजारदेखि छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र हुँदै जुनीचाँदे गाउँपालिका जोड्ने सडक पहिरोका कारण ठाउँ ठाउँमा अवरुद्ध हुँदा यात्रुले दुःख पाउँदै आएका छन् । 

भौगोलिक विकटतासँगै दुर्गम गाउँपालिका जुनीचाँदेमा गाडी जोखिम मोलेर महँगो भाडामा जाने गरे पनि स्थानीय सरकारले सडक मर्मतमा ध्यान नदिँदा लामो समय सडक अवरुद्ध हुने निश्चित छ । 

जुनीचाँदे गाउँपालिका–५ का दीपक शाहीले स्थानीय तहले चासो नदिएपछि जनताले दुःख पाउने गरेको बताउनुभयो । गाउँपालिकाको केन्द्रसम्म पुग्न स्थानीय सरकारले डिपिआरबिनै खनेका बाटो पहिरोले अवरुद्ध छन् । 

शिवालय गाउँपालिका, बारेकोट गाउँपालिका पुग्ने सडकको अवस्था पनि नाजुक छ । भेरी नगरपालिकाबाहेक छ वटा गाउँ तथा नगरपालिकादेखि गाउँबस्तीमा जानका लागि करोडौँ बजेट खर्च गरी खनिएका सडक स्तरोन्नति नगर्दा अवरुद्ध भएका छन् ।

सडक स्तरोन्नति गरी आवागमनलाई सहज बनाउन स्थानीयवासीले आग्रह गरेका छन् । शान्तिचौतारा, पाँचकाटिया, पैक हुँदै जुम्ला जोड्ने सडक ट्र्याक खुलेको १८ वर्ष पुगे पनि स्तरोन्नतिको काम कछुवा गतिमा छ ।