• १७ असार २०८१, सोमबार

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा. अर्याल

blog

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख डा. कुन्दन अर्याल ।

काठमाडौँ, असार १४ गते । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।

त्रिवि कार्यकारी परिषदको बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय रहनुभएका अर्यालले आज आफूले नियुक्तिपत्र लिएको बताउनुभयो । 

यसअघि सो विभागको प्रमुखमा प्रा. चिरञ्जीवी खनाल हुनुहुन्थ्यो । उहाँपछि प्रा. प्रवलराज पोखरेल विभागको प्रमुख हुनुहुन्थ्यो । पोखरेल अनिवार्य अवकाश पाउनुभएपछि डा. अर्याललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि पत्रकारिता केन्द्रीय विभागको पठन पाठन रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गबाट हुँदैआएको थियो । अहिले सो विभाग बल्खुस्थित त्रिवि परिसरमा आफ्नै नयाँ भवनमा सरेको छ । डा. अर्यालले शुक्रबारदेखि औपचारिक जिम्मेवारी लिनुभएको छ । 

जिम्मेवारी लिनुभएपछि गोरखापत्रसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पत्रकारिता शिक्षा र अभ्यास अलग विषय होइन, मिडियाको न्यूजरुम र क्लासरुमलाई जोड्ने काममा विशेष ध्यान दिनेछु । त्रिविले शिक्षा क्षेत्रमा यत्तिधेरै काम गरेको छ कि यो न्यूजमेकर निकाय पनि हो । यसको छवि निर्माणमा हामी सबै थप लाग्नुपर्छ । मिडियामार्फत जनसम्पर्क बढाउन विभागले काम  गर्नेछ ।”