• १७ असार २०८१, सोमबार

जीर्ण काठेपुलमा जोखिमपूर्ण वारपार

blog

हेक्पाखोलाको काठेपुल तर्दै गरेको ट्याक्टर । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, असार १४ गते । सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा निर्माण भएको जीर्ण काठेपुलमा जोखिम मोलेर वारपार गर्न यातायातका साधन बाध्य भएका छन् । सो खोलामा पक्की पुलको निर्माण सम्पन्न हुन सकेको छैन । 

दुई वर्षअघि निर्माण गरिएको काठेपुल जीर्ण हुँदा यातायातका साधन सोही पुल तर्न बाध्य हुँदै आएका हुन् । सिमकोटबाट नाम्खा गाउँपालिका–६, लिमीतर्फ जाँदै गरेका चालक जोर बोहराले पुल पूरै हल्लिने अवस्थामा रहेको बताउनुभयो । जीर्ण काठेपुलमा बोलेरो जिप चलाउनु आफ्नो बाध्यता भएको उहाँको भनाइ छ । उहाँले पुलमाथि राखिएका काठ हल्लिने भएका कारण निकै डर मानेर पुल तर्नु परिरहेको जनाउनुभयो । 

बर्खा लागेसँगै खोलामा पानीको बहाव बढेको अवस्थामा काठेपुल त्यत्तिकै जोखिमयुक्त छ । याल्वाङबाट सिमकोटका लागि ट्याक्टर चलाउँदै आएका पुरन मगरले ठुला सवारीसाधनलाई जीर्ण काठेपुल तर्न झन् कठिन हुने गरेको जनाउनुभयो । पुलमाथि बाँधेर राखिएका काठ खुकुला भइसकेका कारण मालवाहक सवारीसाधन तर्ने बेला पुल हल्लिएर झर्ने समस्या रहेको गुनासो मगरले गर्नुभयो । 

उक्त पुल दुई वर्षअगाडि पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो तर पुल जीर्ण भए पनि मर्मत गरिएको छैन । हिल्सा–सिमकोट आयोजनाले सो खोलामा सात वर्षअगाडिदेखि पक्की पुल निर्माणका लागि काम गर्दै आएको छ । पुलका पिल्लर मात्र निर्माण भएका छन् । पुल निर्माणका लागि अझै कति समय लाग्ने हो, यसै भन्न सकिने अवस्था नभएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले बताउनुभयो । उहाँले पक्की पुल बन्न समय लाग्ने देखिएको कारण काठेपुल मर्मत गर्न आवश्यक रहेको बताउनुभयो ।