• १६ असार २०८१, आइतबार

एसइई २०८० को नतिजा

शिक्षण प्रणालीमै सुधारको खाँचो

blog

काठमाडौँ, असार १४ गते । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ तर तीमध्ये एक वा दुई विषयसम्म एनजी ल्याएका परीक्षार्थीलाई बोर्डले ग्रेडवृद्धि परीक्षाको मौका दिने छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले एसइईको नतिजाले विद्यालय शिक्षाको समग्र शिक्षण प्रणालीलाई नै सुधार गर्नुपर्ने सन्देश दिएको बताउनुभयो । बोर्डका उपाध्यक्षसमेत रहनुभएका काफ्लेले छिट्टै परीक्षा बोर्डको बैठक बसेर प्रश्नपत्र निर्माणदेखि परीक्षा प्रणाली सुधारको विषयमा छलफल गरिने नतिजा सार्वजनिक कार्यक्रममा बताउनुभयो । यो पटकदेखि बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार उच्च अङ्क ल्याउनेलाई जिपिए ३.६० देखि ४ सम्म र सबैभन्दा कम ल्याउनेलाई एनजीसहित सात समूहमा राखेर नतिजा प्रकाशन सुरु गरेको हो । 

यो व्यवस्था अनुसार परीक्षार्थीलाई सात वटै विषयमा कुल सय पूर्णाङ्कमध्ये ७५ अङ्कको सैद्धान्तिक परीक्षा र २५ पूर्णाङ्कको आन्तरिक मूल्याङ्कन विधि (प्रयोगात्मक विधि) बाट अङ्क प्रदान गरिएको थियो । नतिजा प्रकाशन गर्दा पनि सैद्धान्तिक र आन्तरिक मूल्याङ्क दुवै खण्डको प्राप्ताङ्क अनुसार फरक फरक ग्रेड प्रदान गरिएको छ ।

सैद्धान्तिक परीक्षामा न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कन ४० प्रतिशत ल्याउन नसक्ने परीक्षार्थीको नतिजा एनजी आएको हो । जसका कारण अनुत्तीर्णको दर पनि बढेको तथ्याङ्कले स्पष्ट पारेको छ ।  किनकि सबैभन्दा धेरै विद्यार्थीको एनजी गणित विषयमा आएको छ । यो विषयमा ७५ पूर्णाङ्कको सैद्धान्तिक खण्डमा एनजी आउने विद्यार्थीको सङ्ख्या एक लाख ७७ हजार ९८५ छ तर आन्तरिक मूल्याङ्कन खण्डमा एक जना विद्यार्थीको पनि एनजी आएको छैन । 

यस्तै विज्ञानमा एक लाख २६ हजार ९३३, अङ्ग्रेजीमा एक लाख एक हजार ३८३ तथा सामाजिक विषयमा ७३ हजार ८७७ जना विद्यार्थीको एनजी आएको छ । नेपालीमा ६९ हजार ५३२, अर्थशास्त्रमा ६९ हजार ४१६ तथा ऐच्छिक गणितमा २० हजार ३५२ विद्यार्थीको एनजी आएको छ । यी विषयमा पनि आन्तरिक मूल्याङ्कनतर्फ एक जनाको पनि एनजी आएको छैन । गत वर्षसम्म भने परीक्षार्थीले सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवै खण्डमा ल्याएको प्राप्ताङ्कलाई जोडेर एकमुष्ट नतिजा प्रकाशन गर्ने गरिएको थियो । यसो गर्दा सैद्धान्तिकमा कम अङ्क ल्याएका वा अनुत्तीर्ण नै भएका परीक्षार्थी पनि आन्तरिक मूल्याङ्कनमा दिइने उच्च अङ्कका कारण समग्रमा नतिजामा उत्तीर्ण हुने दर बढेको थियो । आन्तरिक मूल्याङ्कनको अङ्क प्रदान गर्ने अधिकार विद्यालयलाई छ । 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विगतको तुलनामा माथिल्लो ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्यामा वृद्धि भएको दाबी गर्नुभयो । एसइई गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । 

ग्रेडवृद्धि  परीक्षा साउन १८ र  १९ गते

ग्रेडवृद्धि परीक्षा साउन १६ र १७ गते सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाएका छन् । तीमध्ये ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ । ६७ हजार आठ सय विद्यार्थीको दुई विषयमा एनजी आएको बोर्डले जनाएको छ । मौका परीक्षाबाट ग्रेडवृद्धि गरेर ग्रेडेड समूहमा परेमा त्यस्ता विद्यार्थीले कक्षा ११ मा भर्ना पाउने छन् ।

अनलाइनबाट पुनर्योग

एसइईको नतिजामा चित्त नबुझ्ने विद्यार्थीले १५ दिनभित्रमा पुनर्योगका लागि निवेदन दिन पाउने बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष शर्माका अनुसार पुनर्योगका लागि अनलाइनबाटै निवेदन दिन सकिने छ ।  

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।