• १६ असार २०८१, आइतबार

एउटै विद्यालयका १० सहित पोखरा महानगरका २१ विद्यार्थीले ल्याए ४ जिपिए

blog

मदरल्याण्ड स्कुल र विद्यार्थी।

रमेश पौडेल

पोखरा, असार १३ गते ।  माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०८० को नतिजामा पोखराबाट एउटै स्कुल मदरल्याण्ड माविबाट १० जनासहित पोखरा महानगरमा २१ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।

पोखरा मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट भएको विद्यालयका निर्देशक नारायण बरालको दाबी छ । ४ जिपिए ल्याउनेमा मदरल्याण्डका कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन् ।

त्यस्तै डिज्नी ल्याण्ड बोर्डिङ स्कुलबाट ३ जनाले ४ जिपिए ल्याएका छन् । जसमा सृष्टि भण्डारी, स्मृति लम्साल र सृष्टिना पौडेल छन् । त्यसैगरी गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । जसमा आयुष पराजुली र ओजश्वी शर्मा रहेका छन् । 

त्यसैगरी ४ जिपिए  ल्याउनेमा नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित सैनिक आवासीय महाविद्यालयबाट आयुष उपाध्याय, एसोएस गण्डकीकाका सचेत सुवेदी, नेश्नल इन्भेन्टीभका विशाल खत्री, शान्ती निकेतनकी अदिती पराजुली, बालोदयकी सभ्यता लामिछाने र सृजना बोर्डिङ स्कूलका आयुष खड्का रहेका छन् ।

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यका अनुसार कास्कीमा समग्रमा सन्तोषजनक नतिजा आएको बताउनुभयो । जिपिए ४ ल्याउनेमा पोखरा महानगरका संस्थागततर्फका ९ वटा विद्यालय रहेका छन् । कास्कीबाट साधारणतर्फ कूल ९ हजार ९ सय ८० मध्ये ७ हजार ७७ जना उत्तीर्ण भएका छन् भने  २ हजार ९ सय ३ जना एनजी र एब्सेन्टमा पारेका छन् ।

त्यस्तै प्राविधिक तर्फ २१९ जनामध्ये १२१ जना उत्तीर्ण भएका छन् । ९८ जनालाई एनजी एब्सेन्ट (४४.७५ प्रतिशत) लागेको छ ।