• १६ असार २०८१, आइतबार

सडकबिचको पोल हटाउन सुरु

blog

सडकविचमा गाडिएका बिधुतका पोलहरु हटाइँदै ।

राजन रावत 

हुम्ला, असार १३ गते । ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरू हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरू हटाउन थालिएको हो । 

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हाललाई सिमकोट बजारको मुख्य क्षेत्र रहेको एयरपोर्ट चोकदेखि काली चोकसम्मको सडकबिचमा रहेका बिधुतका पोलहरू हटाउने काम सुरु भएको बताउनुभयो । उहाँले यो काम अति आवश्यक रहेकाले बजार क्षेत्रका सबै पोलहरू हटाउनु पर्ने भए पनि पहिलो चरणमा उक्त सडकका पोलहरू हटाइएको बताउनुभयो ।

अब बाँकी पोलहरू पनि चाँडै हटाइने बताउनुभयो । यसले गर्दा बजार क्षेत्रको सौन्दर्यकरणमा अवरोध गर्नुका साथै ढलान भएको सडकमा यातायातका साधन सञ्चालनमा समेत सदस्य देखिएका कारण ती पोलहरू हटाइएको उहाँले बताउनुभयो । 

पहिलो चरणमा सघन सहरी विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा यी पोलहरू हटाइएको हो । यसका लागि सिमकोट गाउँपालिकाले सहजीकरण गरेको थियो । केही समयअघि बोलेरो जिप समेत सडकको बिचमा गाडिएका पोलमा ठोकिएको थियो । 

सिमकोट बजार क्षेत्रका ८० पोलहरू हटाउनु पर्ने विवरण हिल्दुम विधुत वितरण केन्द्रले निकालेको छ । अब बाँकी पोलहरू विधुत प्राधिकरणको आर्थिक सहयोगमा आगामी आर्थिक वर्षबाट सुरु गर्नेगरी तयारी गरिएको केन्द्रले जनाएको छ ।