• १३ असोज २०८१, आइतबार

प्राचीन मठेश्वरनाथ मन्दिरको पहिचान गर्न अवशेष उत्खनन गरिँदै

blog

धनुषाको सबैलामा प्राचीन मठेश्वरनाथ मन्दिर पहिचान गर्न पुरातत्व विभागद्वारा उत्खनन गरिँदै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, असार ११ गते । 
पुरातत्त्व विभागले धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन सुरु गरेको छ । विभागका पुरातत्त्व विद प्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सो प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खननमा जुटेको हो ।

स्थानीयका अनुसार पुरातत्त्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइन्छ ।  सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास छ । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको सम दूरीमा चारवटा मठ निर्माण गर्नुभएको थियो ।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको थियो । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ ।

पुरातत्त्व विद् दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताउनुभयो । मठेश्वरनाथ मन्दिर नै हो भनेर ठ्याकै अहिले भन्न नसकिने बताउँदै बताउनुभयो । उत्खननको क्रममा एउटा महत्त्वपूर्ण ढुङ्गा भेटिएको बताउँदै ढुङ्गामा मिथिला अक्षरमा केही लेखिएको जस्तो भेटिएको उहाँले जानकारी दिनुभयो । त्यो लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “ढुङ्गामा अक्षर जस्तो लेखिएको भेटिएको छ । लिपि विशेषज्ञलाई देखाएर के हो पत्ता लगाउँछौँ । अक्षर हो कि के हो स्पष्ट छैन । तर प्राचीन मिथिलाको अक्षर जस्तो देखिन्छ ।” उत्खनन कार्य दुई सातासम्म चल्ने पुरातत्त्व विद दर्नालको भनाइ छ ।

पश्चिमतर्फ मन्दिरको प्रवेश गर्ने द्वार रहेको यसको संरचनाले देखाउँछ । त्यसैले पहिला प्रवेशद्वारबाटै उत्खनन सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इटाले छोपिएको छ भने तल्लो भागमा ठुल्ठुला ढुङ्गा एकआपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ ।

ढुङ्गा प्राचीन समयको जस्तो देखिएपनि इँटा कहाँबाट ल्याइएको हो त्यसको पनि पता लगाउने पुरातत्त्व विद् दर्नाले बताउनुभयो । मथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेटिन सक्ने उल्लेख गर्नुहुँदै पुरातत्त्व उहाँले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी गराउनुभयो ।

“यो मन्दिर प्राचीन त प्राचीन नै हो । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न सकिँदै”, उहाँले भन्नुभयो ।

स्थानीय सत्यानारायण मण्डलले २०३३/२०३४ साल तिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएको बताउनुभयो । उहाँले आफू पनि १२/१३ वर्षको उमेरमा दैनिक पाँच रुपियाँ ज्याला लिएर खन्ने काम गरेको बताउँदै बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यतिखेर ठुलोलाई सात र हामी सानोलाई पाँच रुपियाँ खने बापत ज्याला दिनुहुन्थ्यो । अब यहाँबाट के भेटियो भेटिएन त्यो हामीलाई थाहा भएन ।”

सोही ठाउँका अर्का वृद्ध विन्देश्वर यादवले एक जना अघोरी बाबासँग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताउनुभयो । मन्दिर खनेर ढुङ्गाहरू छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इट्टा झिकेर माथिबाट इट्टा जडान गरिदिएको उहाँले जानकारी दिनुभयो ।

मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठुल्ठुला ढुङ्गा छरपस्ट अवस्थामा छ । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुङ्गा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिम एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको छ, स्थानीय विन्देश्वरले भन्नुभयो ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले पुरातत्त्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने बताउनुभयो । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेट्दै आएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, स्थानीयबासी समेत रहेका सबैला नगरपालिका प्रशासन शाखाका प्रमुख वीरेन्द्रलाल कर्णले विगतमा माध्यमिक परिक्रमा डोला यो मन्दिर हुँदै जाने गरेको कुरा बाबुबाजेले सुनाउने गरेको बताउनुभयो । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर जाने गरेको उहाँले जानकारी गराउनुभयो ।