• १३ असोज २०८१, आइतबार

मोबाइलको लतले बालबालिकाको विकासमै जोखिम

blog

सांकेतिक तस्बिर

काठमाडौँ, असार ११ गते । मोबाइलको लतको बालबालिकाको  विकासमा असर पार्ने हुँदा सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारी सूचना सार्वजनिक गर्दै मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुर्‍याउने हुँदा सचेत रहन आग्रह गर्नुभएको हो ।  

उहाँका अनुसार बालबालिकालाई मोबाइलको तल लागेमा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने, निन्द्राबाट पटक पटक ब्युँझने जस्ता समस्या देखिन्छन्। 

सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन उहाँको अनुरोध छ । 

मोबाइल देखाएर खाना खुवाउनाले बालबालिकाले आफूले के खानेकुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भन्ने थाहा पाउँदैनन् जस कारणले पोषण सम्बन्धित समस्या पाचन प्रणालीमा समस्या निम्तने डा.अधिकारीको भनाइ छ ।  

खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर डुलाउन गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन उहाँको सुझाव छ । 

उहाँका अनुसार मोबाइलको तल लागेका बालबालिका एकोहोरो हुने, रिसाउने झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने हुनसक्छ । 

सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको उहाँको भनाइ छ ।