• १४ असार २०८१, शुक्रबार

संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाको माग

blog

नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद महेश बर्तौला

काठमाडौँ, असार ११ गते । नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बर्तौलाले यस्तो माग गर्नुभएको हो ।

उहाँले नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भए पनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रुपमा भए पनि सर्वसाधारणको पहुँचमा नआएको बताउनुभयो । उहाँले अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताउनुभयो ।

सांसद बर्तौलाले संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्नसक्ने गरी वेबसाइटमा ल्याउन माग गर्नुभयो । उहाँले २००८ देखिएका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

‘‘नेपालको संसदीय अभ्यास २०१५बाट सुरु भयो । २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला तर पब्लिक डोमेनमा आएन । अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पुर्‍याउन सकेका छैनौँ । आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु ।,’’ सांसद बर्तौलाले भन्नुभयो, ‘‘२००८ देखिएका राजपत्र खोज्दा भेट्नसक्छौं । २०१३ साल देखि पत्रिका भेट्नसक्छौं । देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने भेट्न सकिन्छ । मन्त्रिपरिषद्का निर्णयहरू पनि समरीका रूपमा भेट्नसक्छौं तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको अवस्था छैन । व्यवस्थित गर्न माग गर्दछु ।’’

उहाँले संसदीय गतिविधिलाई ऐतिहासिक सम्पत्तिको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।