• १३ असोज २०८१, आइतबार

गुल्मीका सबै स्थानीय तहको बजेट

blog

तम्घास समाचारदाता

तम्घास, असार ११ गते । गुल्मीका १२ वटै स्थानीय तहले असार १० गते सोमबार बजेट प्रस्तुत गरेका छन । आर्थिक वर्ष २०८१/८२ का लागि दुई नगर र १० गाउँपालिकाले अनुमानित बजेट सार्वजनिक गरेका छन । जिल्लाको रेसुङगा नगरपालिकाले ७८ करोड ३५ लाख पाँच हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्तर्गत चालुतर्फ ५६ करोड २० लाख ७८ हजार र पुँजीगततर्फ २२ करोड १४ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ । नगरले सडक, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन र पर्यटनलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

मुसीकोट नगरपालिकाले कुल ६९ करोड ६० लाख ९७ हजार ४५२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख जीवन खरेलले बजेटले कृषि पशुपालन सूचना प्रविधि र पूर्वाधारलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । नगरउपप्रमुख गङगा श्रेष्ठले चालुतर्फ ४७ करोड ७५ लाख ५८ हजार ४५२ र पुँजीगततर्फ २१ करोड ८५ लाख ३९ हजार रुपियाँको बजेट प्रस्तुत गरेको जानकारी दिनुभयो । गुल्मीदरबार गाउँपालिकाले करिब ४६ करोडको बजेट प्रस्तुत गरेको छ ।

आव २०८१/८२ का लागि कुल ४५ करोड ९३ लाख आठ हजार बजेट गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेङगाले प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ ३४  करोड १५ लाख आठ हजार र पुँजीगततर्फ ११ करोड ७८ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ । बजेटमा कृषि, पशुपालन, पर्यटन, खानेपानी, शैक्षिक सुधार रोजगारीलाई बजेटले प्राथमिकता दिएको छ । पालिकाले पालिकाभित्रका नागरिकको न्यूनतम विद्युत महसुल भुक्तानीका लागि २० लाख रुपियाँ बजेट विनियोजन गरेको ढेङगाले बताउनुभयो । यस्तै जिल्लाका अन्य स्थानीय तहले पनि कृषि, पशुपालन, पर्यटन, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिएका जनाएका छन । 

बाँझो जग्गा पालिकाको स्वामित्वमा 

कालीगण्डकी गाउँपालिकाले बाँझो जग्गालाई पालिकाको स्वामित्वमा ल्याउने भएको छ । पालिकाभित्रको बाँझो जग्गालाई सदुपयोग गर्न र जग्गा बाँझो नराख्न पालिकाले यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममार्फत थापाले बाँझो जग्गालाई पालिकाले स्वामित्व लिई उपयुक्त कृषि कार्यक्रम सञ्चालन गर्ने र बाँझो रहेको जग्गालाई खनजोत गरी प्रयोगमा ल्याउने कृषकलाई अनुदानको समेत व्यवस्था गर्ने बताउनुभयो । 

सामूहिक कृषि खेती प्रणालीलाई प्रोत्साहनका लागि पालिकाले अनुदान दिने, कृषि तथा पशु बिमामा अनुदान, उत्कृष्ट कृषक तथा कृषि समूह पहिचान गरी सम्मानको कार्यक्रम ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले सुन्तला पकेट क्षेत्रको विस्तार गरी जाम, जुस र जेली तथा सौन्दर्यका सामग्री बनाउने, स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको र सोही अनुसारको बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । 

पालिकाले गर्भवती महिलालाई निःशुल्क र अन्य बिरामीलाई सहुलियत दरमा एम्बुलेन्सको व्यवस्था गरेको छ । गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रम र छोरी जन्मिँदा सहयोग गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।