• १४ असार २०८१, शुक्रबार

पत्रकार न्यौपाने पुरस्कृत

blog

काठमाडौँ, असार ११ गते । सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । उहाँ नेपाल हेल्थ डटकमका सम्पादक हुन् । 

स्वास्थ्य पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याएको भन्दै उहाँलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा सुरु भएको उक्त पुरस्कार शारदा सुदर्शन देवकोटा फाउन्डेसन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित पुरस्कार हो । सो पुरस्कारको राशि ३३ हजार ३३३ रुपियाँ साथै सम्मानपत्र छ ।

काठमाडौँमा शनिवार आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउन्डेसनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा कोशीका पूर्व मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य पत्रकारिताको विशेष महत्त्व रहेको चर्चा गर्दै पत्रकारहरूले यसलाई बुझेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले एक जना चिकित्सकले गल्ती गर्दा एक जना बिरामीलाई असर गर्ने तर एक जना स्वास्थ्य पत्रकारले एउटा वाक्यमा गल्ती गर्दा लाखौँ करोडौँलाई असर गर्न सक्ने भन्दै संवेदनशील हुन आग्रह गनुभयो । 

 उहाँले शारदा सुदर्शन देवकोटा फाउन्डेसनले स्वास्थ्य पत्रकारहरूलाई सम्मान गर्ने थालनी गरेकोमा खुसी व्यक्त गर्दै यसले पत्रकारहरूलाई प्रोत्साहन तथा सकारात्मक ऊर्जा प्रदान गर्न मद्दत मिल्ने बताउनुभयो । 

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष डा. देवकोटाले आफ्नो बाबा पत्रकार रहेको र पत्रकारिता सम्मानित पेसा हो भन्ने आफूहरूलाई बुझाएको भन्दै बुबाको सम्झनामा मञ्चसँग जोडिएको बताउनुभयो । आज म छु बुबाकै कारण छु , उहाँले पत्रकारिता सम्मानित पेसा हो भनेर हामीमा छाप छोडेर जानुभयो । त्यसैले उहाँको सम्मानमा हामी छोराछोरीले पत्रकारितासँग कुनै न कुनै रूपमा जोडिएका हौँ । उहाँले पुरस्कारबाट स्वास्थ्य पत्रकारितामा थप निखार आउने विश्वास गर्नुभयाे ।