• १२ साउन २०८१, शनिबार

तराई/मधेशका जिल्लामा शान्ति सुरक्षा बिग्रियो : सांसद थपलिया

blog

नेकपा (एमाले)का सांसद सम्झना थपलिया

काठमाडौँ, असार १० गते । नेकपा (एमाले) का सांसद सम्झना थपलियाले सिरहालगायतका तराई/मधेशका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विगत तीन महिना भित्र श्रृङ्खलावद्ध रूपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताउनुभयो । उहाँले गाउँ गाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरूमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

सांसद थपलियाले नागरिकहरू अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्राम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिरहा जिल्ला लगायत तराई मधेशका अन्य जिल्लाहरूमा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ । विगत तीन महिना भित्र श्रृङ्खलावद्ध रूपमा भएको एक दर्जन जति चोरी डकैतीको घटनाले समाजको मनोविज्ञानमा डर र त्रास पैदा गरेको छ । एकातिर श्रृङ्खलावद्ध चोरी र डकैतीको घटना भइरहेको छ । अर्कातिर गाउँ गाउँमा आपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिन भित्र यो गाउँ चोरी गर्छौँ भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ । सुन्दा यो अपत्यारिलो छ । तर सत्य कुरा यही हो ।’’

सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गर्नुभयो ।