• १६ भदौ २०८१, आइतबार

भरतपुरको बजेट साढे छ अर्ब

blog

चितवनको भरतपुर महानगरपालिकाको १५ औं नगरपरिषद एवम् अधिवेशन । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी
चितवन, असार १० गते ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ ।

महानगरले सोमबार आयोजना गरेको १५ औँ नगरसभा एवम् अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमसँगै उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गर्नु भएको हो । महानगरले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पुरक बजेटसहित छ अर्ब ४८ करोड ७९ लाख ९० हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

महानगर प्रमुख दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०८१/०८२ मा छ अर्ब ५५ करोड ८५ लाख १८ हजार रहेको रुपियाँ व्यय अनुमान गरिएको छ । यसका लागि आन्तरिक आय एक अर्ब ८० करोड रुपियाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब चार करोड ६३ लाख ३१ हजार रुपियाँ, राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा ५८ करोड २२ लाख ६७ हजार रुपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । बजेटमा जनसहभागिताबाट ५० करोड, बैंक मौज्दातबाट एक अर्ब ६० करोड, सडकबोर्ड बाट तीन करोड प्राप्ती हुने प्रक्षेपण बजेटमा छ ।

महानगरले अधुरा आयोजना सम्पन्न गर्न एक अर्ब ६० करोड वडास्तररीय विकासका लागि न्यूनतम प्रत्येक वडालाई दुई करोड ७४ लाख २८ हजार रुपियाँ नघटने गरी कूल ८८ करोड रुपियाँ विनियोजित गरिएको छ ।

यसैगरी बजेटमा समपुरक र विशेष अनुदान शीर्षकको बजेटमा १२ करोड रुपियाँ साझेदारी कोषको व्यवस्था गरिएको छ ।

म्हानगरले मेयर विपन्न आवास कार्यक्रम सञ्चालन, एक वडा एक खलुा व्ययायमशालाको लगायतका शहरी सौदर्यकरण र बस्ती विकासका लागि १४ करोड रुपियाँ विनियोजन गरेको छ । वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्न छ करोड रुपियाँ अनुदानको व्यवस्था बजेट मार्फत गरिएको छ ।

त्यस्तै, दुध उत्पादनमा प्रतिलिटर तीन रुपियाँ अनुदानलाई निरन्तरता दिंदै पशु बीमा माछा पालनमा प्रयोग हुने विद्युत महशुलको अनुदानलगायत पशु विकास कार्यक्रमका लागि थप सात करोड बजेट विनियोजित गरिएको छ । 

शैक्षिक विकासको लागि ११ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरको उक्त बजेटमा खेलकुदका लागि दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, गौतम बुद्ध अन््तराष्ट्रिय क्रिकेट रङ्गशालाको अधरो कार्यका लागि बागमती प्रदेश सरकारसँगको सहकार्यका लागि चार करोड रुपियाँ, महानगरपालिकाको समग्र प्रशासनिक कार्यका लागि एकमुष्ठ ८५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । महानगर क्षेत्रमा सिसि क्यामरा जडानका लागि आठ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । नव निर्मित प्रशासनिकभवनको सौदर्य करणका लागि पाँच करोड रुपियाँ बजेट व्यवस्था गरिएको छ ।

महानगरको नीति तथा कार्यक्रममा उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच अभिवृद्धि, उत्पादनमुलक रोजगारी सिर्जना, दिगो तथा वातारणमैत्री पूर्वाधार निर्माण, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितालाई महत्त्व दिइएको छ । त्यस्तै, नवप्रवर्तक तथा उद्यमशीलता प्रवर्द्धन, लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरण, राजस्व प्रशासन सुदृढिकरण, तहगत सरकार र नीजि क्षेत्र र छिमेकी स्थानीय सरकारसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

बजेट सार्वजनिक गर्दै उपप्रमुख अधिकारीले जारी आवको असार पहिलो साता सम्मको आयव्ययको समग्र स्थितिको बारेमा पनि जानकारी गराउनुभएको छ ।  चालु शीर्षकमा व्यवस्था गरिएको दुई अर्ब ७२ करोड १४ लाख ६४ हजार रुपियाँ विनियोजित रकममध्ये असार पहिलो हप्तासम्म एक अर्ब ९३ करोड ६८ लाख ४६ हजार रुपियाँ अर्थात् ७१ प्रतिशत र पूँजीगत तर्फको तीन अर्ब ७६ करोड ६५ लाख २६ हजार विनियोजन भएकोमा एक अर्ब ३४ करोड ८५ लाख ७९ हजार रुपियाँ अर्थात् ३६ प्रतिशत गरी कुल खर्च तीन अर्ब २८ करोड ५४ लाख अर्थात् ५१ प्रतिशत भएको छ । आन्तरिक आम्दानी तर्फ एक अर्ब ७५ करोड प्रक्षेपण गरिएकोमा असार पहिलो सातासम्म एक अर्ब १० करोड २७ लाख रुपियाँ अर्थात् लक्षको ६८ प्रतिशत आम्दानी भएको उल्लेख छ ।