• १२ असोज २०८१, शनिबार

नमुना कृषक बने पूर्वलडाकु

blog

प्लास्टिक टनेलभित्र लगाइएको टमाटर खेती । स्वाइल सिमेन्टको पोखरीमाथि फलेको तरकारी । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, असार ९ गते । समाजमा रहेको शोषण, दमन र अन्यायलाई सधैँका लागि अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिनुभयो, नौमुले गाउँपालिका–६ का धनबहादुर तारामीमगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै माओवादी लडाकु भएर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कमान्डर प्रकाण्डलगायत नेताको सुरक्षाको जिम्मेवारी सम्हाल्नुभयो । 

सेना समायोजन गर्दा योग्य ठहरिएपछि मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गर्नुभयो । नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्किने निर्णय गर्नुभयो । स्वैच्छिक अवकाश आएपछि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न पुगेका उहाँलाई भारतमा गर्ने दुःख आफ्नै देशमा गर्ने हुटहुटी चल्यो । कृषि पेसामै भविष्य देखेका उहाँले ‘तारामी आधुनिक नर्सरी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर नौमुले गाउँपालिका–५ को साट्टारमा रहेको चार रोपनी खेतमा व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ । 

“समाजका लागि के के न गरौँला भनेर युद्धमा होमिएँ, सेनामा समायोजन पनि भएँ तर शारीरिक अवस्थाले गाउँमै फर्कायो र कृषि खेती गर्न सिकायो,” तारामी भन्नुहुन्छ । उहाँले भन्नुभयो, “चार रोपनीमा जग्गाभित्र लटरम्म फलेका बोडी, टमाटर, काउली बन्दा, करेला, लौकासहितका तरकारीले अहिले १० बर्से जनयुद्धदेखि नेपाली सेनाको जागिरसमेतलाई बिर्साउँछ ।” 

नौमुले बजारनजिक भएका कारण पनि बिहान र बेलुका तरकारी लिन व्यापारी घरमै पुग्ने भएपछि तौलेर दिन भ्याइनभ्याइ हुने गरेको तारामी बताउनुहुन्छ । पाँच वर्षअघि खेतीमा लागेयता आफ्नो मेहनत खेर गएको कहिल्यै महसुस गर्न नपरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसपालि वैशाखयता मौसमी बेमौसमी तरकारी खेती बाटै राम्रो आम्दानी लिन सफल भएको छु ।” 

आफ्नो खेती अर्गानिक पद्धतिको भएकाले उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको तारामीको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि आफैँ कीटनाशक औषधी बनाउनुहुन्छ । तरकारीमा लाग्ने किराको सङ्ख्या र क्षतिको आकलन गरेर आफैँले बनाएको जैविक औषधी प्रयोग गरी विषादीमुक्त तरकारी उत्पादन गर्नुहुन्छ ।

अहिले जताततै खेतीपातीमा कडा विषादीको प्रयोग बढेसँगै कडा प्रकृतिका रोग बढेकाले सबैलाई प्राङ्गारिक खेतीमा आकर्षित गराउनुपर्ने तारामीको सुझाव छ । “गाउँघरमा विगतमा अमृत हुने वस्तु बजारबाट विषादी ल्याएर हाम्रै कारण विष बनाइएका छन्,” तारामीले भन्नुभयो, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ ।” 

तारामीको तरकारी खेती देखेपछि गाउँका अन्य युवा पनि तरकारीबाट राम्रो उत्पादन लिन थालेका छन् । “विषादी नछरी किरा नियन्त्रण र विषादीरहित तरकारी उत्पादनमा तारामीले अपनाएको तरिकाले हामीलाई लोभ्याएको छ,” नौमुले गाउँपालिका–४ का कृष्णबहादुर थापामगरले भन्नुभयो, “आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ ।” 

मुलुककै समृद्धि र जनताको मुक्तिका लागि भन्दै विगतमा बन्दुक बोकेको कुरामा पश्चात्ताप नभए पनि समृद्धिको बाटो चाहिँ अहिलेकै उपयुक्त रहेको निष्कर्ष तारामीको छ । उहाँ अहिले गाउँछिमेक वरपर राम्रो उदाहरणका नमुना कृषक बन्नुभएको छ । घरमा भेट्न आउने आफन्त हुन् कि अन्य छिमेकी उहाँकै खेतीकै कुरा गर्छन् । 

कृषि विकास कार्यालय दैलेखका अर्गानिक विज्ञ ट्रस्टी शर्माले अर्गानिक मोडल फार्म कार्यव्रmम र ग्रेप परियोजनाको सहयोगमा विभिन्न औजार उपकरण र प्रविधि दिइएको बताउनुभयो । उहाँले कृषि विकास कार्यालयबाट बिउबिजन, पक्की प्लास्टिक टनेल घर, जैविक विषादी बनाउने ड्रमलगायतका सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विषादी प्रयोग नगरेरै अर्गानिक तरकारी उत्पादन गर्न अभियान अन्तर्गत गँड्यौलाको मल बनाउन आवश्यक सहयोग गरिएको छ । 

अर्गानिक मोडेल कृषि कार्यक्रम अन्तर्गत जिल्लाको भगवतीमाई गाउँपालिका–४ मन्घर, भैरवी गाउँपालिकाको–१ रावतकोट, नारायण नगरपालिका–८ को तर्ताङमा उक्त कार्यक्रम सञ्चालन भएको शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कर्णाली प्रदेश सरकारले घोषणा गरेको अर्गानिक प्रदेशको नारा पूरा गर्न पहिलो चरणमा नमुना किसानलाई सहयोग गर्ने र त्यसका आधारमा अन्य किसानलाई समेत कार्यक्रममा समेट्ने लक्ष्य राखिएको छ ।” 

अहिले विद्यार्थीसमेत तारमीको फर्ममा तरकारी अवलोकन गर्न आउने गरेका छन् । भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशिराम विकले भन्नुभयो, “हामीले विद्यार्थीका अभिभावकलाई समेत तरकारी खेती गर्न प्रेरणा जाग्न सकोस् भनेर विद्यालयबाट विद्यार्थीलाई फार्म अवलोकन गर्ने अवसर दिएका छौँ ।”