• १२ असोज २०८१, शनिबार

सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा : सञ्चारमन्त्री

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा प्रेस सेन्टर नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : तिलकराज ओझा/ रासस

भवानी ऐर
गोदावरी (कैलाली), असार ८ गते । 
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा लागिपरेको बताउनुभएको छ । प्रेस सेन्टर कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले त्यसका लागि सरकारी कार्यदल बनाएर दश वर्षे गुरुयोजना निर्माण गरिने बताउनुभयो । उहाँले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको र सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिए अर्बौँ राजस्व भित्र्याउन सकिने बताउनुभयो ।

मन्त्री शर्माले मिडिया काउन्सिल ऐन संसदमा रहेको र  सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको तथा दूरसञ्चार ऐनको ड्राफ्ट तयार भएको बताउनुभयो । उहाँले आमसञ्चारसम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो । उहाँले जनताका आशा र अपेक्षालाई सम्बोधन हुने गरी सरकारले राम्रा काम गरिरहेको र त्यसले जनतालाई आशावादी बनाएको बताउनुभयो ।

जनअपेक्षा अनुसार समयमै पाठ्यपुस्तक, मलखादको वितरण लगायतका कामलाई सरकारले व्यवस्थित ढङ्गले अघि बढाएको उहाँको भनाइ थियो । यस्तै, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड लगायतमा अडिग भई सरकारले काम गरेको र त्यसले जोसुकै भए पनि सजाएको भागिदार हुन्छ भन्ने स्थापित गरेको बताउनुभयो । उहाँले सरकार भ्रष्ट्राचार, विकृति र विसङ्गतिका विरुद्ध निर्ममरुपमा अघि बढिरहेको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा मन्त्री शर्माले सरकारले विपद् व्यवस्थापनका लागि पूर्व तयारीको काम गरिरहेको र  सञ्चारमाध्यम मार्फत विपद् सचेतना सामग्री प्रसारणको व्यवस्था गरेको बताउनुभयो । यस्तै, बजेटका कारण सरकार तलमाथि हुँदैन, त्यो सम्भावना छैन, वर्तमान गठबन्धन राजनीतिक स्थायित्व दिनेगरी पूरै अवधि लैजाने सहमति भएको बताउनुभयो ।

सरकार बजेट निर्माणको प्रक्रिया छ, विनियोजनमाथि छलफलमा छ, त्यसैले बजेट चाँडै पारित हुने उहाँले बताउनुभयो । उहाँले बजेटमा देखिएका कमिकमजोरीलाई सुधार (परिमार्जन) गर्न प्रयत्न गरिनेसमेत बताउनुभयो । सञ्चारकर्मीको अर्को जिज्ञासामा मन्त्री शर्माले राजदूत लगायतका नियुक्ति सरकारको नियमित प्रक्रिया भएकाले त्यो स्वाभाविक भएको उल्लेख गर्नुहुँदै त्यसलाई बजेटसँग जोड्न उपयुक्त नहुने बताउनुभयो ।

‘‘सत्ता साझेदार दल नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने कुरा हो, त्यसमा प्रधानमन्त्रीले आवश्यकता बमोजिम मन्त्रिमण्डल विस्तार गर्नुहुन्छ, मन्त्री फिर्ता बोलाउने भन्ने होइन, त्यसबारे सरकार र पार्टीमा छलफल पनि भएको छैन ।,’’ उहाँले भन्नुभयो ।

मन्त्री शर्माले सामाजिक सूचना सन्देश प्रवाहका क्षेत्रमा चलचित्र क्षेत्र महत्त्वपूर्ण प्रभावकारी माध्यम भएकाले सरकारले शारिरीकरुपमा अपाङ्गता भएका कला क्षमता भएकाहरूलाई पनि कला क्षेत्रमा जोड्ने गरी सरकार लागिपरेको बताउनुभयो ।