• १२ असोज २०८१, शनिबार

फेसनले निम्त्याएको सामाजिक विचलन

blog

मानव सभ्यता आउनुअघि मानिस जङ्गली सभ्यतामा थिए । चेतनशील प्राणी हुनुको अर्थमा मान्छे सभ्य बन्दै गए । जङ्गलमा नाङ्गैभुतुङ्गै बाँच्ने जीवनमा परिवर्तन हुँदै मान्छेले रुखबिरुवाका बोक्रा पातहरूले आफ्नो लाज छोप्न लागे र क्रमशः कपडाको निर्माण गरी आफ्नो शरीर ढाक्न लागे । अन्ततः सभ्य समाजको बासिन्दा कहलाइन थाले । 

प्रत्येक राम्रा पक्षसँग नराम्रा पक्ष जोडिएको हुन्छ । त्यसै पनि त आकाशमा देखिने प्रत्येक चाँदीको घेरा जति सुन्दर छ; त्यो चाँदीको घेराले घेरिएको बादल मात्रै हेर्ने हो भने त्यत्तिकै कुरूप छ । यसरी नै मान्छेको समाज पनि गुण र अवगुणले भरिएको छ । तुलनात्मक रूपले हेर्ने हो भने सभ्यताका नाममा आधुनिक हुँदै गएको समाजमा जति गुण छ; त्यसभन्दा बढी अवगुण व्याप्त छ । यो स्वयम्मा उत्पादित अवगुण होइन, मान्छे आफैँबाट स्वनिर्मित हो । यहाँ सन्दर्भ छ– फेसनको । त्यसो त फेसन अनुकरणको विषय हो । एउटाको फेसनलाई अर्कोले अनुकरण गर्ने मान्यता नै पाएको छ समाजले । 

प्रकृति आफैँमा सुन्दर छ, हुन्छ । मान्छेले पाएको जन्मसिद्ध सुन्दरताभन्दा सुन्दर कृत्रिम सुन्दरता कहाँ हुन्छ ? तर यो एक्काइसौँ शताब्दीमा आइपुग्दा कृत्रिम सुन्दरता– फेसनले खास गरेर नारी जातिलाई यसरी गाँजिसकेको छ कि सुन्दरताको परिभाषा नै करिब करिब बदलिसकेको छ । उमेरको कुनै हिसाब छैन । खास गरेर किशोरावस्थाका नारी जातिमा फेसनको भूत चढेको देखिन्छ । प्रायशः खुला बजारमै अर्धनग्न जस्तो देखिने गरी हिँड्ने युवतीलाई देख्ने आँखा खुलाका खुलै रहन्छन् । कतिपय अवस्थामा त आफ्ना आँखा नै बन्द गर्नुपर्ने पनि हुन्छ । देख्ने गरिएको छ– पुस माघको ठिहि¥याउँदो जाडोमा खास गरेर बिहे व्रतबन्धको सभ्य ‘पार्टी’ मा आमन्त्रित नारीहरूको फेसन हेर्नलायकको हुन्छ । जसले आफ्नो शरीर तातो राख्नका लागि खातका खात कपडा लगाएका हुन्छन्; तिनीहरूलाई देख्दा नै देख्नेहरूले जाडो भएको अनुभूति गर्न पुग्छन् । एकातिर असुहाउँदिलो फेसन, अर्कातिर स्वास्थ्यकै दृष्टिकोणले पनि त त्यस्तो खुला पहिरन बेफाइदाजनक हुन्छ । मौसम जाडोको तर लिवास एकदमै खुला । फेसनको लहैलहैमा, त्यो पनि खास गरेर वयस्क÷अधबैँसे उमेरका महिलामा यस्तो आचरण देखिनु, देखिनु मात्रै होइन झन् झन् यसको गति बढ्दै जानुले समाजलाई डो¥याएर कतातिर लगिरहेको छ, भन्न मुस्किल छ । यस्तो दृश्य देख्दा प्रश्न उठ्नु स्वाभाविक छ– के, मानसिकतामै भ्रष्ट आचरणले प्रवेश गरेको हो ? कस्तो मनोविज्ञान होला यस्तो ? समाजका आफू जस्तै अन्य सदस्यलाई आफ्नो शरीरको फेसन देखाउनका लागि नै हो भने त्यसबाट प्राप्त हुने उपलब्धि चाहिँ के हो ? सायद यसको जवाफ स्वयम् ती फेसनकर्तासँग छैन, केवल फेसनकै लागि फेसन भन्ने मान्यतामा रहेका हुन्छन् ती ।

फेसनको यो नकारात्मक आचरण अझ सबैभन्दा बढी युवा पुस्तामा देखिन्छ । अधिकांशतः युवतीले खास गरेर सहरी क्षेत्रमा गर्ने फेसन हेरेर यसको पुष्टि गर्न सकिन्छ । हुँदाखाँदाको पहिरनलाई काटेर या च्यातेर प्वाल पारिएको ढाँचामा गरिने फेसनको प्रचलनले अहिले यसरी तीव्रता पाइरहेको छ कि कुन सीमामा पुगेर त्यो रोकिन्छ, भन्न सकिने अवस्था छैन । 

त्यसभन्दा अघि बढेर, फेसनको मात्रा बढ्दो रूपमा देखिने ठाउँ भनेको उच्च माध्यमिक शिक्षालयले विभिन्न अवसरको बहानामा मनाउने गरेका उत्सव स्थान हुन् । यस्ता उत्सव स्थानहरू केटी विद्यार्थीका लागि फेसन गर्ने अत्यन्त ‘सुगम/सजिलो स्थान’ हुन पुगेको छ । सम्भवतः तिनका निमित्त त्यो ठाउँ भनेको आफ्ना घरपरिवारमा नसुहाउने पहिरनका सम्पूर्ण बन्देजलाई खोल्ने ‘स्पेसल ठाउँ’ हो । यस्तोमा, एउटा प्रश्न भने सजिलै उठिहाल्छ– के, अभिभावकले आफ्ना सन्तानको आचरणलाई नजिकबाट हेरिरहेका हुँदैनन् ? अन्यथा, यस्तो फेसन गर्ने सहुलियत कसरी दिन्छन् तिनलाई ? मानौँ, फेसनको प्रतिस्पर्धा गर्नकै लागि अभिभावकले नै तिनलाई पठाएका हुन् । अन्यथा, अर्धनग्नता मात्रै होइन, त्यसलाई पनि फरक फरक किसिमले त्यस प्रकार ‘सो’ गर्नुले पछिल्लो पुस्तालाई कस्तो असर पु¥याउँछ ? आआफ्ना विद्यालयका भवनसम्ममा फेसन सीमित रहुञ्जेल त त्यसको असर त्यति नफैलिएला । जब राजधानीमा अवस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान या सभागृहका प्राङ्गण जस्ता सार्वजनिक स्थानमै यस्ता फेसन नौटङ्की देखिन्छ; तब सभ्य भनेर बाँचेको सामाजिक मान्छेको तथाकथित ‘इज्जत’ प्रति औँला उठ्नु स्वाभाविक छ ।

अर्कोतर्फ हेर्ने हो भने, यसमा उच्च माध्यमिक शिक्षालयले आफ्नो कुनै जिम्मेवारी नराखेको प्रस्ट हुन्छ । सम्बन्धित शिक्षालयका लागि त यस खालका उत्सवहरू ‘अपुताली धन’ प्राप्त गर्ने सुनौला अवसर हुन् । तिनले त जति सकिन्छ यस्ता तथाकथित शिक्षा विकासोन्मुख कार्यव्रmमको बहानामा विद्यार्थीबाट अतिरिक्त आयआर्जन गर्न चाहिरहेका हुन्छन् ।

यसरी, फेसन–विषयमा यहाँनिर तीन पक्षको प्रत्यक्ष संलग्नता देखिन्छ । यसमा दोषी कुन पक्ष ? अथवा सबैभन्दा ठुलो दोषी को ? भाग नै लगाउने हो भने पनि दोषको भागीदारी कस–कसका भागमा कति ? समष्टिमा, यो विषय सामाजिक ठुलो विकृति हो भनिसकेपछि यो विकृतिलाई निरूपण गर्ने उपाय पनि त होला ! तर के हो उपाय ? कसले गर्ने निराकरण ?   

कदाचित्, राज्यले पो यस्तो विसङ्गतिलाई नियन्त्रण गर्नुपर्ने हो कि ! तर, राज्य सदैव सत्ता प्राप्तिको होडबाजीमा लागिराखेको पाइन्छ । मानौँ राजनीतिक क्षेत्रको अलावा उसले अन्य क्षेत्रमा आँखा लगाउनु नै हुँदैन । हद भए प्रशासनिक क्षेत्र राज्यको प्राथमिकतामा पर्दो हो तर सामाजिक क्षेत्र ? लाग्छ, समाजप्रति राज्यको कुनै जिम्मेवारी छैन । भनौँ, दायित्वबोध नै छैन । यस अर्थमा, सभ्य समाज भनेर कहलिएको यही समाजभित्रकै नागरिक बाटै यस्तो ‘फेसन’ विषयक विकृतिविरुद्ध हात हाल्न मुनासिब देखिन्छ ।