• १६ भदौ २०८१, आइतबार

महिना दिन नाचगान, भुमे पर्व समापन

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार ८ गते । एक महिना हर्षोल्लाससाथ मनाइएको मगर समुदायको भुमे पर्व अर्थात् बलपूजा समापन भएको छ । जेठ १ बाट भुमे पर्व सुरु भएको थियो । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ की सावित्रा मगरका अनुसार हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने भुमे नाच कतै हरेक दिन त कतै शनिबारको दिन नाचिन्छ । स्थान अनुसार जेठ मसान्त र असार १ का दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।

समापनको दिनमा अगुवालाई सम्मान गर्ने, नाचगानमा सरिक भएकालाई दक्षिणा दिने (दान फाल्ने) चलन छ । कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाहा, ट्याम्की, छिल्लर र सनईको तालमा लहरै भुमे नाच नाचिन्छ ।

स्थानीय नागेन्द्रकुमार पुनले बलपूजा अर्थात् भूमि पूजा मगर जातिका लागि निकै महत्वको चाड भएकाले खाम मगरले यस चाडमा भुमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गरेको जानकारी दिनुभयो । भुमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सिने र मनखुसी हुने विश्वास रहेको उहाँको भनाइ छ । मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ । भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नाश भई पृथ्वीवासीमा खुसी आउने विश्वास छ ।

भुमे नाच महिला र पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा र बालबालिकाको पनि उत्तिकै आकर्षण छ । उनीहरू पनि साथीसँग रमाएर आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भुमे नाच नाच्ने गर्छन् ।