• १६ भदौ २०८१, आइतबार

खडेरीले मकै सुक्न थाले, टारीखेतमा रोपाइँ गर्न समस्या

blog

खडेरीका कारण सुकेको मकैबाली र पहेँलिएको धान । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, असार ७ गते ।
असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

किसानले मकै लगाउने समय (फागुनदेखि जेठसम्म) वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका जिल्लाका किसान असारको पहिलो हप्ता सकिँदा समेत वर्षा नभएपछि चिन्तित छन् । जिल्लामा आकाशबाट पानी नपरेको कारण बल्लतल्ल जेठको पछिल्लो सातादेखि बारीमा रोपेको मकैबाली हुर्कन नपाउँदै खेतबारीमै सुक्न थाले झिमरुक गाउँपालिका–६ का स्थानीय किसान शेरबहादुर पुनले बताउनुभयो । “वर्षभरि खाने खेतबारीमा लगाएको मकै सुक्न थालेका छन्,” उहाँले भन्नुभयो, “हाम्रो मुख्य बाली नै मकै हो, छरेदेखि अहिलेसम्म पानी परेको छैन ।”

खेतमा रोपेको धान पनि पानी नहुँदा सुक्न थालेका छन् । धेरैजसो टारी खेतमा पानी नहुँदा रोपाइँ हुन सकेको छैन । कुलोमा पानी नभएर खेत सुख्खा भएकाले रोपो जोगाउन गाह्रो भएको स्थानीय किसान बताउँछन् । खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेलिँदै गएको किसान रामबहादुर पुनले बताउनुभयो । “खडेरीका कारण किरा र कमिलाले बीउ खाएका छन् । पानी अभावमा खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ ।”