• १२ असोज २०८१, शनिबार

राजदूतको नियुक्तिलाई थप व्यवस्थित एवम् मर्यादित बनाइने

blog

बिहीबार बसेको प्रतिनिधि सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवम् कार्यसम्पादनमा आधारित बनाइने बताउनुभयो ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरि हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने स्पष्ट पार्नुभयो ।

“राष्ट्रको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ ।”

उहाँले देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो ।

त्यसैगरी, नदीको प्रकृति र यसले पारिरहेको असरलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने देखिएकोले उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवामार्फत  जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयनमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्रभावितहरूको समस्याका बारेमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विषयको संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न आयोगका सुझाव समेटी पीडित जनताका समस्या स्थायीरूपमा समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पार्नुभयो ।