• १३ साउन २०८१, आइतबार

कांग्रेसकै बिचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन : नेता कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ, असार ६ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बिचमा गठबन्धन भए अन्य राजनीतिक दलले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला सङ्घको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबिच गठबन्धन हुने गरेको भए पनि कांग्रेसको बिचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गर्नुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘‘दोस्रो कुरा प्रदेश र सङ्घ संसद्को बिचमै प्रतिस्पर्धा गराइ अघि जानुपर्छ । त्यसमा तपाईँहरू तयार हुनुहुन्छ भन्ने म विश्वस्त छु । घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौँ, राजनीतिक दलहरूको बिचमा । मलाई के लाग्छ भने नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बिचमा गठबन्धन गरौँ । नेपाली कांग्रेसको बिचमा गठबन्धन गर्ने हो भने हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन ।’’

नेता कोइरालाले महिलाहरू लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको बताउनुभयो । उहाँले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताउनुभयो । उहाँले अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरू माहिलालाई दिन जरुरी रहेको जिकिर गर्नुभयो ।

‘‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्नै सकिरहेका छैनौँ । तपाईंहरुसँग कुरा गर्दा हाम्रो राजनीतिक प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ । आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईँहरू पनि चुक्नुभएको छ जस्तो लाग्छ । यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला । जतिसुकै राजनीतिक अधिकार दिए पनि आर्थिक अधिकार तपाईँहरूको भएन, सामाजिक अधिकारहरू भएन भने समस्या जहीँ को त्यहीँ रहन्छ ।,’’ नेता कोइरालाले भन्नुभयो, ‘‘त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरू पनि त्यत्तिकै ध्यान दिनुपर्छ । ३३ प्रतिशत सिट हामी रिजर्भेसन त गरेका छौँ, मलाई के लाग्छ भने यो सिट जसरी रिजर्भेसन गरेका छौँ, राजनीतिक तहमा । त्यो आफ्नो ठाउँमा अपर्याप्त होला । तपाईँहरूको माग ५१ प्रतिशत नै हो । हामीलाई आपत्ति छैन । ३३ प्रतिशत भइसकेको छ भने अब ५१ प्रतिशत गर्न के आपत्ति भयो र । त्यसका लागि सक्षम बन्दै जानुपर्ने हुन्छ । त्यो सक्षमता बन्नका लागि अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली कांग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा पनि धेरै सिटहरू माहिलालाई दिन जरुरी छ ।’’

नेता कोइरालाले महिलाहरूलाई प्रदेश र सङ्घ संसद्को बिचमै प्रतिस्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।