• १३ साउन २०८१, आइतबार

संविधान संशोधन गर्न आवश्यक : कांग्रेस प्रवक्ता महत

blog

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत

काठमाडौँ, असार ६ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नुभएको उल्लेख गर्नुहुँदै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहमति जुटाइ कांग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताउनुभयो । उहाँले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने जिकिर गर्नुभयो ।

‘‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनुपर्छ । त्यो भनेको के हो भने ३३ प्रतिशत जुन केन्द्रमा महिला, प्रदेशमा, स्थानीयमा अझ बढी छन् ।,’’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘‘यसलाई सुनिश्चित गर्न के गर्ने ? स्थानीयमा त प्रत्यक्ष निर्वाचन हुन्छ । त्यसकै माध्यमबाट आउँछ । केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिस्पर्धा गर्ने हुनुपर्छ । सिट रोटेशनमा हुनुपर्छ । एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ । जुनसुकै पार्टीका होउन् । अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिलाबिच हुनुपर्छ । यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ ।’’

प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताउनुभयो । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने औंल्याउनुभयो । उहाँले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताउनुभयो ।